राजनीति


ओलीलाई अष्टलक्ष्मीको आग्रह: पार्टी तपाईंको पेवा होइन, यही बैठकबाट बिदा लिनुस्

ओलीलाई अष्टलक्ष्मीको आग्रह: पार्टी तपाईंको पेवा होइन, यही बैठकबाट बिदा लिनुस्

नेपालखबर
जेठ ९, २०८३ शनिबार १३:११, काठमाडौँ

नेकपा एमालेका पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै नेतृत्व छाड्न आग्रह गरेकी छन्। 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यले भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक जारी रहेका बेला सामाजिक सञ्जालमार्फत ओलीलाई अध्यक्ष पदबाट बिदा लिन अनुरोध गरेकी हुन्। 

‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभाको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन: नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईँको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ’, शाक्यले लेखेकी छन्, ‘अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ।कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा नि:स्वार्थी भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad