नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज (शुक्रबार) बस्दै छ।
अस्ति जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी एमालेले गरेको हो।
एमालेको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष ओलीको निवास, गुण्डुमा बस्नेछ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी एमालेको छ।
गत मंसिर २७-२९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।
यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।
Shares

प्रतिक्रिया