नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुमवासीलाई आफैँ वैकल्पिक बसोबासको व्यवस्थापनका लागि १५ हजार रूपैयाँ दिने सरकारले निर्णयप्रति आपत्ति जनाएका छन्। आज (बुधबार) बर्दिवासमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस विषयमा आपत्ति जनाएका हुन्।
‘नागरिकको आत्मसम्मान हुँदैन? बसिरहेको, राति सुतिरहेको मान्छेलाई उठाएर बिहानै घरमा डोजर ल्याएर भत्काएको छ,’ उनले भने, ‘त्यसैले महिनाको १०-१५ हजार दिन्छु भनेर हुँदैन। कसरी हुन्छ? त्यस्तो ठाउँमा हो नेपाली कांग्रेस उभिने।’ उनले जहाँ नागरिकले दुःख पाउँछ, त्यहाँ जनताको साथमा कांग्रेस हुनुपर्ने बताए।
सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त वस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूलाई प्रति परिवार २५ हजार एकमुस्टरूपमा प्रदान गर्ने र जोखिमयुक्त वस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रतिपरिवार १५ हजार प्रतिमहिना एवं सोभन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप दुई हजार प्रतिमहिनाका दरले तीन महिनासम्म उपलब्ध गराउने निर्णय गरेको थियो।
यस्तै उनले मधेशको सिमानामा बस्ने नागरिकहरूमाथि ज्यादती भएकाले त्यसका विरुद्ध उभिन पनि कार्यकर्तालाई आह्वान गरे।
‘हामी सरकारमा छौँ, छैनौँ त्यो सेकेन्डरी कुरा हो। हामी यहाँको मूल शक्ति हो। नागरिकले हामीलाई खोज्ने किन? यस्तो बेला प्रदेश, जिल्ला, नगरका साथीहरू सडकमा, सीडीओ कार्यालय र हातमा प्लेकार्ड बोकेको हुनुपर्थ्यो,’ उनले भने।
Shares

प्रतिक्रिया