सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका हुन्। सरकारले गठन गरेको आयोग खारेज गर्न माग गर्दै यसअघि वैशाख १५ मा पनि रिट दायर भएको थियो।
त्यस रिटमा वैशाख १६ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो।
सरकारले वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दाबी रिट निवेदकको छ।
न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्वप्रधानन्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालवालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास, डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायालयमाथि असंवैधानिक एवं गैरकानुनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ।
आयोग क्षेत्राधिकारविहीन र गैरकानुनी भएकाले खारेज गर्न माग गरिएको छ।
Shares

प्रतिक्रिया