नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर लगाइने गरिएको आरोपको खण्डन गरेका छन्।
‘न्युज एजेन्सी नेपाल’सँग कुरा गर्दै उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागतका लागि दिएको योगदान थाहा नभएकाहरूले सभापति थापाको ससुराका रूपमा मात्र चिन्ने गरेको टिप्पणी गरेका हुन्।
२०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’विरुद्ध पर्चा बाँड्दै गर्दा आफू जेल परेको उल्लेख गर्दै उनले पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको दाबी गरे।
‘राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेको अर्जुननरसिंहको बारेमा थाहा नभएका, खाली गगनको ससुरा मात्रै चिनेका पत्रकारहरूलाई अथवा सामाजिक सञ्जालको मान्छेलाई मैले के जवाफ दिइरहने’, उनले भने, ‘उहाँहरूलाई धन्यवाद, कम्तीमा एउटा जबर्जस्त देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोड्नुभयो, म त्यसमा धन्यवाद दिन चाहन्छु।’
नेता केसीले ‘पशुपति दर्शन, सिद्राको व्यापार’ भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणी बनिबनाउ षड्यन्त्र भएको आरोप पनि लगाए।
उनले कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराका रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए।
‘यो बनिबनाउ षड्यन्त्र हो। पशुपतिको दर्शन, सिद्राको व्यापार भन्छन् नि। एउटा मट्याङ्ग्राबाट गगनजीलाई पनि तेजोबध गर्ने, मलाई पनि तेजोबध गर्नको निम्ति गरिएको प्रयत्न हो,’ केसीले भनेका छन्, ‘यस्ता प्रयत्न विभिन्न कोणबाट भएका छन्। जानीजानी गरिएका छन्। कांग्रेसभित्रबाट पनि भयानक भएको छ, अरू पार्टीको नाम लिन्नँ।’
Shares

प्रतिक्रिया