जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको पूर्णपाठ बाहिरिएको छ। जसमा तत्कालीन सरकारमा रहेका जिम्मेवारी पदाधिकारी र सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस गरिएको छ।
प्रतिवेदनमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौँ जिल्लाका प्रहरी प्रमुख विश्वराज अधिकारीलाई फौजदारी कसुरमै कारबाही गर्न सिफारिस छ। तर आयोगको सिफारिस त्रुटीपूर्ण पाइएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई भने कतै पुरस्कृत गर्न र कतै कारबाही गर्न सिफारिस गरेको छ। प्रतिवेदनको पेज नं. ६८९ मा एआईजी शाहलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नु पर्ने उल्लेख छ।

शाहबारे प्रतिवेदनमा भनिएको छ, ‘भाद्र २४ गते टंगालस्थित भाटभटेनी र हिल्टन होटल जलाई आक्रमणकारीहरू नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख प्र.अ.म.नि. शाहले आक्रमणकारीहरूलाई मुल गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नु पर्ने पनि देखिन्छ।’
तर सोही प्रतिवेदनको पृष्ठ नं. ७२५ मा एआईजी शाहसहित ५ प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ। तत्कालीन कार्य विभाग प्रमुख एआईजी शाहसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका तत्कालीन प्रमुख (डीआईजी) ओमबहादुर राना, तत्कालीन काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी, उपत्यका प्रहरी कार्यालयका एसएसपी दीपशम्शेर जबरा र विशेष कार्यदल संसद् भवनका एसपी ऋषिराम कंडेललाई प्रहरी ऐन, २०१२ को दफा ९ को उपदफा (४) तथा प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार कारबाही गर्न गराउन सिफारिस गरेको छ।

Shares

प्रतिक्रिया