राजनीति


भ्रष्टाचार छानबिन र सुशासनमा सरकारलाई पूर्ण साथ दिन्छौँ: गगन थापा

भ्रष्टाचार छानबिन र सुशासनमा सरकारलाई पूर्ण साथ दिन्छौँ: गगन थापा

नेपालखबर
चैत १०, २०८२ मंगलबार १४:४४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। 

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले २०४६ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रस्ताव गर्ने उनको भनाइ थियो। 

‘२०४६ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानबिन गर्नुपर्छ। यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ,’ उनले भने, ‘हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ, रास्वपाले पनि भनेको थियो। अब हाम्रो माग यो रहन्छ।’

नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताए।

‘२०८२ सालबाट २०८७ सालसम्मको एउटा अध्याय सुरु भयो। यो विशेष परिस्थितिमा भएको सरकार हो। अब बन्ने सरकारसँग सुशासनको सन्दर्भमा धेरै अपेक्षाहरू छन्,’ थापाले भने, ‘हामी प्रतिपक्षको तर्फबाट गर्नुपर्ने भुमिका निर्वाह गर्छौँ। तर हामीले यसको लागि २०८२ साल अघिका कुराहरू पनि टुंग्याउनुपर्छ।’

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै थापाले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानुनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए।  

‘हामीले यो ३५ सालको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएको पनि सुन्यौँ। यो सार्वजनिक खपतको विषय बनाइनुहुन्न,’ थापाले भने, ‘अब कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयका सन्दर्भमा कानुनसम्मत हिसाबले छानबिन हुनुपर्छ।’

अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने उनको भनाइ थियो। भ्रष्टाचार छानबिन र सुशासनका सन्दर्भमा सरकारलाई सहयोग गर्ने उनले बताए। ‘भ्रष्टाचारको छानबिन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा कांग्रेसको पूर्ण साथ रहन्छ,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad