राजनीति


कांग्रेसको निष्कर्ष: २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजय

कांग्रेसको निष्कर्ष: २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजय

नेपालखबर
चैत ८, २०८२ आइतबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। 

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए।

३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए। ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उनले बताए।

त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उनले जानकारी दिए। केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाई छ। 

उनले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ। यो भोटको माईग्रेसन मात्रै हो की माईन्डसेट नै माईगे्रसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भिरतापूर्वक हेरिरहेका छौँ। ५ देखी ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ। ती सिट संख्याहरु २०÷२१ वटा निर्वाचन क्षेत्रहरु छन्।’

प्रवक्ता चालिसेले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताए। उनले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताए।

उनका अनुसार कांग्रेसको ९ औँ महाधिवेशनमा करिव १ लाख सदस्य रहेका थिए। १४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ। 

प्रवक्ता चालिसेले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिए। 

उनले जारी केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए। बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad