राजनीति


‘रास्वपा र बालेन लहर’ले मधेसवादी दल शून्यमै आउट

‘रास्वपा र बालेन लहर’ले मधेसवादी दल शून्यमै आउट

सुभाष कर्ण
फागुन २७, २०८२ बुधबार १४:३४, जनकपुरधाम

वि.सं. २०७९ को निर्वाचनसम्म मधेस क्षेत्र पुराना दल र मधेशवादी दलको किल्ला जस्तो थियाे। तर, त्यो किल्ला २०८२ को निर्वाचनमा प्राप्त जनताको अभिमतले भत्किएको छ।  

फागुन २१ को निर्वाचनले मधेसवादी दल मात्र होइन, पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको किल्ला पनि नराम्ररी भत्किएको छ।

२०६५ सालबाट शानदार प्रदर्शनसहित मधेशबाट उदाएको तत्कालिन मधेशी जनअधिकार फोरम र  तराई मधेश लोकान्त्रिक पार्टीसहितका दलको एकतापछि बनेको जसपा नेपाल यो निर्वाचनबाट मधेसबाट बढारिएका छन्।

मधेसवादी दलसहित कांग्रेस र एमालेका दिग्गज नेता पनि यहाँ पराजित बने। यो निर्वाचनले सीके राउत नेतृत्वको जनमत पार्टीको पनि मधेसमा पत्तासाफ बनाएको छ। जसपा, जनमतसहित कुनै पनि मधेसवादी दलले प्रतिनिधिसभाको समानुपातिक तर्फ पनि ३ प्रतिशत मत कटाउने अवस्था देखिएकै छैन। 

यो निर्वाचनले मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूलो शक्तिसहित उदाएको छ।

यो निर्वाचनबाट मधेसका ३२ सिटमध्ये ३० सिटमा रास्वपाको जित भएको छ। 

२०६५ मा ८१ सिट ल्याएका मधेशवादी दल यसपटकको निर्वाचनमा रास्वपा र बालेन लहरले मधेसमा शून्यमै आउट भएका छन्।

पहिलो र दोश्रो मधेस आन्दोलनमा ६० जना मधेशी जनताको शहादत पश्चात भएको निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरमले ५२, तराई मधेश  लोकतान्त्रिक पार्टीले २० र सद्भावना पार्टी ९ सिटमा जित निकालेका थिए।

तर उनीहरूको सिट संख्या घट्दै थियाे। २०७० मा फुट र विभाजनले मधेसमा दलको संख्या ह्वातै बढ्यो। तर पाँच दलले त्यतिबेला जम्मा ४४ सिट मात्रै जित्न सके।

तेश्रो मधेस आन्दोलन पश्चात ६८ जनाको शहादत पश्चात प्रतिनिधिसभामा संघीय समाजवादी र तमलोपा सद्भावना मिलेर बनेको राष्ट्रिय जनता पार्टीले ३३ सिट मात्रै जित्यो।

यी दलले प्रदेश सभामा पहिलोपटक राम्रो उपस्थिति देखाए। उनीहरूले मधेसमा बहुमतको सरकार पनि गठन गरे। 

यी बाहेक रास्वपासँगै २०७९ को निर्वाचनमा मधेसमा उदाएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ६ सिटसहित प्रतिनिधि सभाको यात्रा तय गरेको थियो। 

उनले १३ सिट लिएर प्रदेश सभामा सहभागिता जनायोl तर यसपटकको निर्वाचनको दौडमा अध्यक्षा सीके नै निकै पछि छुटेका छन्।  

मधेसमा जनमतका धेरै उम्मेदवार ५ देखि १० औँ स्थानमा सिमित भएका छन्। 

जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जसपाकै नेता राजकिशोर यादव, १३ पटकसम्म निर्वाचन जितेर १९ पटक मन्त्री भएका शरतसिंह भण्डारी, हाल कांग्रेस प्रवेश गरेका सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीबाट राजनीति शुरु गरेर हाल राष्ट्रिय मुक्ति पार्टीको अध्यक्ष रहेका राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष राउत लगायतका नेताहरू यो चुनावमा नराम्री पराजित भई रेसबाटै बाहिर गएका छन्। 

मधेसमा पुराना ठूला दलको हालत पनि उस्तै छ। 

कांग्रेस सभापति गगन थापा, एमालेका रघुवीर महासेठ, कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मंसुर, नेपाल संघीय समाजवादी पार्टीका रिजवान अन्सारी, नेकपाका महेन्द्र यादव, नेकपाबाट जसपा नेपाल छिरेका उमेश यादव, जसपा नेपालबाट एमालेमा गएका प्रदीप यादव, कांग्रेसका तेजुलाल चौधरी, कांग्रेसै किरण  यादव, नेकपाका गिरिराजमणि पोखरेल, विश्वनाथ साह, नारायणकाजी श्रेष्ठ लगायत दर्जनौँ नेताहरू मधेसमा नराम्ररी पराजित बनेका छन्।

मधेस मामिलाका जानकार एवं राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्, ‘मधेसमा मधेशी दलको अस्तित्व मेटिनु र पुराना दलका दिग्गज नेताहरु परास्त हुनुको प्रमुख कारण यिनीहरुले जनता सामु राखेको एजेण्डा कार्यान्वयन नगर्नु नै  हो।’

उनले हरेक निर्वाचनमा केही फरक एजेण्डा लिएर नयाँ र पुराना दल मधेसमा उदाउने र बिलाउने गरेका बताए।

‘ती दल हरेक निर्वाचनमा फरक एजेण्डा लिएर त आए। तर आफैँले अघि सारेका कुरा पूरा नगरी सत्ताको हानाथापमा लाग्दा जनतामा एक किसिमको निराशा बढ्दै थियो,’ उनले भने, ‘अहिलेको निर्वाचनमा त्याे विस्फोट भएको मात्रै हो।’

उनले यो निर्वाचनमा रास्वपाको जित अप्रत्याशित भएको पनि बताए। आउने दिनमा रास्वपाले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसके फेरि कुनै नयाँ दल आउने र रास्वपा मधेसबाट बिलाउने उनको अनुमान छ। 

‘त्यतिबेला रास्वाको हालत पनि अहिलका मधेसवादी, कांग्रेस, एमाले र नेकपाकै जस्तो हुनसक्छ,’ उनले भने, ‘२०६५ मा माओवादी १० बर्से जनयुद्धबाट नयाँ विचार बोकेर आएको थियो। मधेशवादी दल अधिकारसहित जनताको आवश्यकतासँग जोडिएका एजेण्डा लिएर आउँदा राम्रो परिणाम ल्याएका थिए। सत्ताको लागि तत्कालीन माओवादी आफ्ना विचार छाडेर टुक्रा टुक्रामा विभाजित भयो। मधेसवादी दल पनि आफ्ना एजेण्डा विर्सेर त्यही टुटफुटमा रमाउँदा आज यो हविगतमा पुगेका हुन्।’ 

अर्का राजनीतिक विश्लेषक डा. शुशिल यादव भने २०४८ यता मधेसमा विकास भएको बताउँछन्।

‘यहाँ सडक, पुलपुलेसा, अस्पताल र विद्यालयसहित निजी क्षेत्रमा विकास भएकै छ,’ उनले भने, ‘तर जुन रुपमा जनताका अपेक्षा पूरा हुनुपर्ने थियो, त्यो रुपमा हुन नसकेपछि अहिलेको अवस्था आएको कुरालाई नकार्न सकिँदैन।’

अहिले मधेसमा मधेसवादीसँगै पुराना दल जुन हालतमा पुगेका छन्, त्यसको प्रमुख कारण जनताको आधारभूत आवश्यकता नि:शुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, कृषीप्रति पुराना दल र तिनका नेताले देखाएको वेवास्ता कै परिणाम भएको यादवको तर्क छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad