राजनीति


एमालेमा विद्रोहको संकेत: योगेश भट्टराईले मागे नेतृत्वको जवाफदेहिता, ओलीलाई राजीनामाको दबाब

एमालेमा विद्रोहको संकेत: योगेश भट्टराईले मागे नेतृत्वको जवाफदेहिता, ओलीलाई राजीनामाको दबाब

एमाले सचिव योगेश भट्टराई


नेपालखबर
फागुन २५, २०८२ सोमबार १४:५२, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा ब्यहोरेको नमिठो पराजयपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र नीतिगत पुनरावलोकनको बहस सुरू भएको छ। पार्टीका सचिव योगेश भट्टराईले निर्वाचनमा जनताले पार्टीको नीति र नेतृत्व दुवैलाई अस्वीकार गरेको उल्लेख गर्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले पार्टीको यो अवस्था आउनुमा प्रमुख नेताकै जवाफदेहिता रहने स्पष्ट पारेका छन्। उनले घुमाउरो शैलीमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग गर्दै नेतृत्वले ‘जस–अपजसको भारी’ बोक्नुपर्ने उल्लेख गरेका हुन्।

‘हामी ढलेका हौँ, मरेका होइनौँ’ भट्टराईले पार्टीको नीति र नेतृत्वप्रति जनताको असन्तुष्टि देखिएको भन्दै अब आफूभित्र सर्वांगीण रूपान्तरण आवश्यक रहेको बताएका छन्। उनले लेखेका छन्, "सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर यसबारे गम्भीर छलफल हुनुपर्छ।"

भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएका नीतिहरू गलत भएको र त्यसलाई सच्याउन पटक–पटक गरिएको आग्रह नेतृत्वले नसुनेको गुनासो समेत गरेका छन्। उनले कार्यकर्ताहरूलाई 'आत्मभर्त्सना होइन, आत्मसमीक्षा'को बाटोमा हिँड्न अपिल गर्दै हिजोका गुट र घेराबाट बाहिर निस्किएर खुला बहसमा सहभागी हुन आह्वान गरेका छन्।

पार्टी पंक्तिमा निराशा र आक्रोश चुलिएको बेला भट्टराईको यो अभिव्यक्तिले एमालेभित्र ठूलो हलचल ल्याउने निश्चित छ। उनले अन्तमा भनेका छन्, "कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौँ। सही नीति र नेतृत्वका माध्यमबाट हामी फेरि उठ्नेछौँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad