राजनीति


प्रतिनिधिसभा निर्वाचन : आज हुँदैछ मतदान

प्रतिनिधिसभा निर्वाचन : आज हुँदैछ मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ५:४५, काठमाडौँ

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ। 

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो। 

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।     

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। 

यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
 
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्। 

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको छ। 

यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad