राजनीति


मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सरकार ‘पर्ख र हेर’को अवस्थामा

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सरकार ‘पर्ख र हेर’को अवस्थामा

नेपालखबर
फागुन १७, २०८२ आइतबार १७:१३, काठमाडौँ

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ। 

मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिए।

मन्त्रालयले आइतबार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए। 

मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ। साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उनले जानकारी दिए। जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ।

खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम शुरु गरेको जानकारी दिए। दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ।

उनले आइतबार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए।

सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उनले जानकारी दिए।

उनकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीं छन्। इजरायलमा करिव ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन्। 

उनले भने, ‘आज मुख्यसचिवज्यूको नेतृत्वमा सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा बैठक बसेको थियो। बैठकले परराष्ट्र मन्त्रालयको सचिवको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहनेगरि आकस्मिक उद्धार टिम गठन गर्ने निर्णय गरिएको छ। उद्धारको सन्दर्भमा युद्धको कस्तो अवस्था रहन्छ, लामो समय जाने अवस्थामा छिमेकी मुलुकहरुले लिने कदम, सम्बन्धितछ मुलुकहरुले देखाउने तत्परताको समयको अवस्थालाई हेरेर उद्धारको रणनीति लिनुपर्ने हुनसक्छ भन्ने मन्त्रालयको बुझाई छ।’ 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए।

उनकाअनुसार मध्यपूर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन्।

ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दूतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन्। उनले नेपालमा रहेका आफन्तलाई पनि अनाश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसँग सम्पर्कमा रहन आग्रह गरे। 

उनले भने, ‘अहिलेसम्म प्राप्त सूचना र जानकारीअनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित हुनुहुन्छ। मध्यपूर्वमा रहेका विभिन्न मुलुकका १० वटा नेपाली नियोगहरु त्यहाँ रहेका नेपाली समुदायहरुसंग निरन्तर सम्पर्कमा हुनुहुन्छ, उहाँहरुको अवस्था बुझिरहनु भएको छ र मन्त्रालयमा रिर्पोट गरिराख्नुभएको छ।’ 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए।

उनले सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताए। 

नेपालले कूटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानूनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad