नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन्।
बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू चितवन-३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताए। निर्वाचन प्रक्रिया सुरु भएदेखि आफू चितवन-३ मा नगएको उनले प्रष्ट पारे।
‘नेपाली कम्युनिस्ट पार्टीको संयोजक चितवन-३ मा केन्द्रित भयो भन्नेकुरा बिल्कुल गलत कुरा भन्नुभयो। म गएको पनि छैन, निर्वाचन प्रक्रिया सुरु भएदेखि चितवन-३ मा,’ प्रचण्डले भने, ‘मैले वक्तव्य दिएर ल रेणुलाई जिताउन प¥यो पनि भनेको छैन।’
अहिले आफूलाई चितवन-३ सँग जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने प्रचण्डको भनाइ थियो। ‘रेणु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ तपाईहरूले देखिराख्नु भएको छ। त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ,’ प्रचण्डले भने, ‘ममाथि अन्याय हो, त्यो रेणुमाथि पनि अन्याय हो। रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ।’
आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताए। ‘रेणु आफ्नै कर्मले, आफ्नै कामले स्थापित छिन्, परिचित छिन्, त्यो तपाईहरूलाई पनि थाहा छ। म न गएको छु, न त वक्तव्य दिएको छु, न अन्तर्वार्ता दिएको छु, तर त्यहाँ चलिराख्या छ, बहस चलिराख्या छ। त्यो स्वभाविक रुपमा चलेको ठान्छु’ उनले भने।
रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उनको प्रचारको मुख्य आधार भएको प्रचण्डको भनाइ थियो। उनले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हात नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताए।
Shares

प्रतिक्रिया