नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र २ का उम्मेदवार डा. मिनेन्द्र रिजाललाई यतिबेला फागुन २१ का लागि मत माग्न भ्याइ नभ्याइ छ। सोमबार दिउँसो रिजाललाई नेपालखबरको टोलीले पछ्याउँँदा मोरङको अमरदहस्थित कटुवामा कार्यकर्ताको प्रश्न र अपेक्षबाट घेरिएको अवस्थामा भेटिए।
पार्टीका क्षेत्रीय र पालिका तहका कार्यकर्तालाई दायाँबायाँ राखेर नागरिकका गुनासो र सुझाव सुनिरहेका थिए रिजाल। मतदातासँग छलफलपछि उनी केही काम व्यक्तिगत र केही आफ्नो समन्वयमा सरकारबाट गराउने आश्वासन दिँदै थिए।
मोरङ २ को जातीय सन्तुलन मिलाएर रिजाल कांग्रेस नेता कार्यकर्तालाई साथमा हिँडाइरहेका छन्। मधेसी समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा उनी बढी केद्रीत देखिएका छन्।
एमालेले मधेसी समुदायका दिलिप बगडियालाई उम्मेदवार बनाएपछि २०७४ मा तत्कालीन नेकपा एमाले र माओवादीको बाम गठबन्धनलाई पराजित गरेका रिजाल यतिबेला भने दबाबमा देखिन्छन्।
मोरङ २ मा दुई तिहाइ मधेसी समुदायको बसोबास छ भने गनगाई मुस्लिम र दास समुदायसँग पनि राम्रो मत छ। पहाडी समुदायको एक तिहाइ जति मतदातामा जनजातिको बाहुल्यता धेरै छ।
नेपालखबरको टोलीले रिपोर्टिङका क्रममा मधेसी समुदायबाट उम्मेदवार बनेका एमालेका बगडियाभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आकर्षण देखियो।
बालेनप्रतिको आकर्षणले मधेसी समुदायको मत प्रभावित हुँदा कांग्रेस र एमालेबीच कडा टक्कर हुने रास्वपा उम्मेदवार कृष्ण कार्कीलाई लागेको छ। रतुवामाईको इटहरातिर रास्वपाको माहोल राम्रो देखिँदा ग्रामिण भेगमा कांग्रेसको अवस्था बलियो छ। फागुन २१ सम्म आआफ्नो पक्षमा माहोल सिर्जना गर्न सबै उम्मेदवार जोेडबल गरिरहेका छन्।
प्रस्तुत छ मोरङ २ को चुनावी प्रतिस्पर्धा र कांग्रेसको अवस्थाबारे रिजालसँग मोरङको सुनवर्सीमा गरिएको ‘तत्कालै’ संवादः

मोरङ २ मा तपाईँको उम्मेदवारी किन?
म उम्मेदवार रहेको यहाँको ६० प्रतिशत भूभाग गिरिजाप्रसाद कोइरालालाई पटक पटक सांसद बनाएको र प्रधानमन्त्रीको रूपमा पाएको क्षेत्र हो। यही क्षेत्रको ४० प्रतिशतमध्येको केही भूभागबाट पटकपटक भरतमोहन अधिकारीलाई निर्वाचित गरेको ठाउँ छ।
केही क्षेत्र अरू नेताहरू निर्वाचित भएको ठाउँ पनि छ। यो क्षेत्रको अर्को विशेषता मदन भण्डारीजीको आफ्नो मूल ठाउँ पनि यहीँ छ। रतुवामाई नगरपालिकामा उहाँको पुरानो घर छ।
जुन उहाँहरूले ‘अन्डरग्राउन्ड मुभमेन्ट्स’हरू गरेको ऐतिहासिक ठाउँ हो। २०७४ मा म चुनाव लड्दा साथीहरूले असाध्यै उर्जाका साथ सहयोग गर्नुभयो। तत्कालीन माओवादी र एमालेको गठबन्धनले चुनाव लड्दा हामीले जित्छौँ भनेर कसैले पत्याएको थिएन। यहाँ घुम्दा जितिन्छ भन्ने आत्मविश्वास थियो, तर बाहिर कसैले पत्याएको थिएन।
त्यो बेला मेरो लागि सौभाग्य बन्यो। तर, पार्टीले मोरङमा छ वटा क्षेत्रमध्ये एउटा यही क्षेत्र मात्रै जित्यो। त्यसपछि यहाँको विकास निर्माणसँग म जोडिएँ। पहिले गिरिजाप्रसाद कोइराला, आमोदप्रसाद उपाध्याय यहाँबाट सांसद बन्नुभयो। अब यो मान्छे सांसद बन्यो भने पनि हाम्रो कामलाई त्यहाँ निरन्तरता दिन सक्छ, अगाडि बढाउन सक्छ भन्ने कुरामा नै उहाँहरूको ध्यान बढी थियो भन्ने मलाई लाग्छ त्यो बेला।
२०७४ मा तपाईँले अप्रत्याशित नतिजा हात पार्नु भयो। २०७९ को चुनावमा उम्मेद्वार बन्ने परिस्थिति बनेन। अहिले चुनावी मैदानमा उत्रिँदा के के चुनौती देखिराख्नुभएको छ?
यहाँ विकास निर्माणको नयाँ काम सुरु गर्ने र विगतमा सुरु भएका कामलाई पूर्णता दिनुपर्ने मेरा लागि मुख्य चुनौती हो। बक्रा खोलामा एउटा पुल बनाउनुछ। त्यो पुल बनाउने कुरा आजको पहिलो प्राथमिकतामा छ। त्यस्तै, विभिन्न खोलामा तटबन्ध गर्नु जरुरी छ। विकास गर्न थुप्रै काम बाँकी छन्। त्यसैले विकास निर्माणकै काम मेरो लागि बहुत महत्त्वपूर्ण हुन्छ। त्यही काम अगाडि बढाउने क्रममा छु म।
विगतको निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुन्थ्यो, यो पटक रास्वपा पनि प्रतिस्पर्धामा देखिन्छ। यसले तपाईँलाई चुनावी असहजता भएको छैन?
उहाँहरू कहाँसम्म पुग्नुहुन्छ थाहा छैन। प्रतिस्पर्धा छैन त मैले भन्ने कुनै भएन, प्रतिस्पर्धा छ। अरू पार्टीहरू पनि छन्। कांग्रेस र एमाले मात्रै होइन, रास्वपा, नेकपा पनि छ। पहिलेदेखिको यहाँ जसपा इत्यादिको पनि उम्मेदवारहरू हुने र भोटर भएको ठाउँ हो। १७ जना उम्मेद्वार छन्, स्वतन्त्र उम्मेद्वार पनि ४ जना हुनुहुन्छ। कसरी परिणाम आउँछ, अहिले नै भन्न सकिने अवस्था छैन।
फागुन २१ को निर्वाचनमा कांग्रेसका लागि चाहिँ कतिको सहज देखिरख्नु भएको छ?
मैले सहज नै महसुस गरेको छु। मसँग प्रतिस्पर्धामा उत्रिनुभको एमालेकै साथी पालिकाको नेतृत्वमै असफल भइसक्नु भएको थियो। अर्को कुरा मैले असहज महसुस नगर्नु पर्ने के छ भने उहाँले आज आफ्नो पार्टीको अध्यक्षको तस्बिर राखेर पोस्टर बनाउनसमेत सक्नुभएको छैन।
जेन्जी विरोध प्रदर्शन पछाडिको उहाँको पार्टीले ७५ प्रतिशत मत दिएर फेरि अध्यक्ष चुनेको मान्छेको तस्बिर राख्न उहाँलाई अहिले खुबै डर छ। आफ्ना अध्यक्ष को हो? आफूले बनाउने प्रधानमन्त्री को हो भन्नसमेत सक्नुभएको छैन। त्यसैले असहजता त उहाँलाई छ, मलाई छैन।

यस्तै असहजता त कांग्रेससभित्र पनि त छ नि। चुनावकै मुखमा विशेष महाधिवेशन भयो। तपाईँ नियमित महाधिवेशनको पक्षमा हुनुहुन्थ्यो। त्यही बीचमा चुनावी मैदानमा आइपुग्नुभएको छ। कांग्रेस भित्रको अन्तर्विरोध चुनाव आउँदैमा मेटिसकेको छैन होला नि?
त्यही कुरा एक महिना अगाडि भएको भए हाम्रो अन्तर्विरोधको सबै कुरा टुङ्गो लागिसक्थ्यो। केही कुरा टुङ्गो लाग्न बाँकी छ, नभएको होइन। तर, एउटा चरणमा पुगेपछि हामी सबै त गगन कुमार थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्दै छौँ। टिकट लिएर चुनाव लडेपछि नेतृत्व अस्वीकार गरेर हिँडेको छैन कोही पनि हामी।
दोस्रो कुरा, कांग्रेसमा १६५ निर्वाचन क्षेत्रमा सबै बहसका बावजुद पनि ठूलो रूपमा बागी विद्रोही देखिनुभएको छैन। कांग्रेस त निकै नै मिलेर चुनाव लडिरहेको छ। सानोतिनो कचरपचर बाँकी रहेको छ भने पनि अब सबैतिर त्यो टुङ्गिँदै जाँदैछ। मेरो क्षेत्रमा कचरपचर बाँकी छैन। अनि यसरी साथीहरू सबै जुन पक्षको भए पनि अहिले त्यो सबै कुरालाई बिर्सेर एकताबद्ध भएर काम गर्नुभएको छ। पार्टीका आन्तरिक बहस भोलि निर्वाचनपछि होला।
नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार तय गरेर चुनावमा गएको छ। यो चुनावपछि सिङ्गो कांग्रेसले गगन थापालाई नै प्रधानमन्त्री अगाडि सार्छ कि त्यसमा नयाँ पात्र खोज्ने प्रयास पनि हुन्छ?
म एउटा निर्वाचन क्षेत्रमा गगनकुमार थापाले हस्ताक्षर गरेर दिएको टिकट लिएर चुनाव लडिरहेको छु। मलाई बाँकी १६४ निर्वाचन क्षेत्रबारे खासै ज्ञान छैन। पार्टीको जसको टिकट लिएर आउँछु, त्यहाँ उहाँ बसेको केन्द्रिय कार्यसमितिले एउटा निर्णय गरेको छ। त्यो निर्णयका बारेमा मैले अहिले प्रश्न उठाउने ठाउँमा म छैन। मेरो क्षेत्रमा त्यो विषयमा प्रश्न उठेको पनि छैन।
त्यसकारण कांग्रेसले सहज रूपमा नै अहिलेको परिस्थितिलाई अगाडि लिएर जान्छ। कांग्रेसलाई एकताबद्ध बनाएर चुनाव लडाउने कुरामा मेरो भूमिका त रह्यो नि त। पछिल्लो दिनमा केही साथीहरूमध्ये मेरो भूमिका र सक्रियताबाट कांग्रेस १६५ निर्वाचन क्षेत्रमा एकताबद्ध भएर चुनाव लडिरहेको छ।
हाम्रा पार्टीका केही विषय नियमित महाधिवेशनले टुङ्गो लगाउला। १५ औं महाधिवेशन आउन बाँकी नै छ। तर अहिले हामी यो विषयमा छलफल गर्दैनौँ, बहस गर्दैनौँ, जनतासँग साझा प्रतिवद्धता लिएर जान्छौँ भनेर आएका छौँ। त्यही साझा प्रतिवद्धता मोरङ क्षेत्र नम्बर दुईले मज्जाले बोकेको छ। मैले मोरङ २ मा पार्टीको आन्तरिक कारणले कुनै असहज महसुस गर्नु परेको छैन।
चुनावी अंकगणितलाई मसिनो ढंगले विश्लेषण गर्ने नेता हो तपाईँ। बदलिएको कांग्रेसलाई फागुन १२ को निर्वाचनमा कस्तो परिणाम आउने आकलन गर्नु भएको छ?
पहिला त म तलाईँले भने जस्तै हो। तर, यो चुनावमा मैले अरूतिरको अंकगणित हेर्न पाएको छैन। तर प्रत्यक्ष निर्वाचनमा कांग्रेस पहिलो हुने कुरामा आशंका छैन। बाहिरका साथीहरूसँग कहिले कहीँ कुरा हुन्छ। तर, पछिल्लो समय मलाई यो क्षेत्रबाहेक ध्यान छैन। आफै उम्मेद्वार भएर आएपछि यही निर्वाचन क्षेत्रमा केन्द्रीत भएको छु।
भिडिओ :
फाेटाे/भिडिओ: सराेज नेपाल
Shares

प्रतिक्रिया