राजनीति


निर्वाचनमा सीमा सिल भए पनि भारतीयलाई फर्किन अवरोध नगरिने

निर्वाचनमा सीमा सिल भए पनि भारतीयलाई फर्किन अवरोध नगरिने

सुभाष कर्ण
फागुन १२, २०८२ मंगलबार १७:३७, जनकपुरधाम

आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि ७२ घण्टा अगावै सीमा सिल गरिए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय साधु सन्त तथा श्रद्धालुहरूलाई घर फर्किन कुनै अवरोध नगरिने स्थानीय प्रशासनले जनाएको छ। 

निर्वाचनको ७२ घण्टा अगावै बोर्डर सिल गर्ने तयारी छ। 

मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी हुन आउने लाखौं साधुसन्त र श्रद्धालु मध्ये भारतीयको संख्या पनि उल्लेख हुने गर्दछ। परिक्रमा समाप्ति हुँदा सीमा सिल भएको अवस्था हुन्छ। 

यस्तो अवस्थामा भारतीय नागरिकलाई घर फर्किन समस्या हुने चौतर्फी आवाज उठेपछि प्रशासनले अवरोध नगर्ने निर्णय गरेको हो।

धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीय बैठकले परिक्रममा सहभागी साधुसन्त तथा श्रद्धालुहरूलाई घर फर्किन सहजता प्रदान गरिने निर्णय गरेको दुवै जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।

धुनषाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले परिक्रमा सहभागी भारतीय साधुसन्तलाई मौन अवधिमा घर फर्किनमा बोर्डरमा कुनै अवरोध नगरिने बताए। 

उनले भने, ‘कुनै पनि निर्वाचन सीमा सील भएको अवस्थामा बोर्डरमा देश बाहिरका नागरिकलाई आफ्नो गन्तव्यमा फर्किन अवरोध गरिँदैन। त्यही भएर हामीले पनि बोर्डर सिल भएपनि उताबाट आउन दिँदैनौँ। तर परिक्रमामा सहभागीहरुका लागि सीमा प्रहरीसँग समन्वय गरी घर फर्किन चुनाव हुने २१ गते बाहेक २० गतेसम्म कुनै अवरोध गर्दनौँ भन्ने कुरा सर्वदलीय बैठकबाटै निर्णय भइसकेको छ।’

१५ दिने माध्यमिकी परिक्रमा १८ गते जनकपुरधाम आउने र १९ गते जनकपुरधाम नगरको परिक्रमा अर्थात् अन्तरगृह परिक्रमा गर्ने कार्यक्रम छ। सोही कार्यक्रम अनुसार परिक्रमामा सहभागीहरू १९ गते अन्तरगृह परिक्रमा घुमेर जानेछन्। सो कार्यक्रम हुँदा निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको हुनेछ।

यद्यपी जिल्ला प्रशासन कार्यालयले सीमा सिल भएको अवस्थामा भारततर्फ बाहिरिन दिने लिखित निर्णय भने गरेको छैन।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले परिक्रमा सहभागीहरूलाई सीमा सिल अगावै घर फर्किन आग्रह गरिएको बताए। उनले लिखित निर्णय नभएपनि घर फर्कन अवरोध नहुने स्पष्ट पारे।

उनले भने, ‘तर परम्परागत रुपमा उहाँहरूले अन्तरगृह परिक्रमा घुमेर नै जाने भएकालाई घर फर्किन बोर्डरमा २० गतेसम्म कुनै अवरोध गरिने छैन। त्यसका लागि हामीले सीमा प्रहरीसँग समन्वय गर्छौं।’

फागुन ४ गते जनकपुरधामस्थित हनुमानगढीबाट शुरु भएको परिक्रमा भगवान श्री रामजानकीको  डोलासहित नेपाल भारतको विभिन्न स्थानको परिक्रमा गर्ने परम्परा रहेको छ। १५ दिनको यात्रा सम्पन्न गरी १८ गते जनकपुरधाम आउने र १९ गते जनकपुरधामको अन्तगृह परिक्रमा गरी यस वर्ष सम्पन्न हुनेछ। 

जनकपुरधामको हनुमाननगरबाट कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै ध्रुवकुण्ड, कञ्चन वन पुग्न छन्। कञ्चनवनबाट होली खेलेर परिक्रमा टोली धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आईपुग्छन र पूर्णिमाको दिन जनकपुरधाममा नगरको परिक्रमाको रुपमा अन्तगृह परिक्रमा गरि होली खेलि १५ दिवसीय यात्रा सम्पन्न गर्ने छन्।  

सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने जनविश्वासका साथ यस धर्म यात्रामा सहभागीहरूले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ। 

मिथिला परिक्रममा सहभागी हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नुपर्ने र लसुन प्याज बिनाको खाना खानु पर्ने हुँदा परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ।

साथै, परिक्रमामा सहभागीहरूले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुल्ला आकास मुनि पाल टाँगेर वनवासी जीवन बिताउने गर्छन्।

परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad