राजनीति


धर्मेन्द्र बास्तोला तत्काल रिहा नहुने, दुर्गा प्रसाईंको मंगलबार टुंगो लाग्ने

धर्मेन्द्र बास्तोला तत्काल रिहा नहुने, दुर्गा प्रसाईंको मंगलबार टुंगो लाग्ने

नेपालखबर
फागुन ११, २०८२ सोमबार २०:४२, काठमाडौँ

निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोला तत्काल रिहा नहुने भएका छन्।

सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै तत्काल रिहा गर्न आदेश दिन अस्वीकार गरेको हो। 

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश मात्रै जारी गरेको हो। अब गृह मन्त्रालयसहितका विपक्षीले बस्तोला पक्राउ गर्नुको कारण पेस गर्नुपर्छ। 

फागुन २१ गतेका लागि तोकिएको निर्वाचन बहिस्कार गरेको पार्टीले निर्वाचन ब्थिोल्ने गतिविधि समेत अगाडी बढाएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो। तर गैरकानुनी रुपमा थुनामा राखिएको दाबि गर्दै उनले सर्वोच्चमा बन्दी निवेदन दिएका थिए।

यसैबिच निर्वाचन बिथोल्ने आरोपमै एकसातादेखि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने तत्काल छुट्ने वा नछुट्ने भन्ने मंगलबार टुंगो लाग्ने भएको छ।

न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गर्ने निर्णय सम्बन्धीका कागजात माग गर्दै मंगलबारलाई पेसी तोकेको छ। 

प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उनलाई उपस्थित गराउन आदेश दिएको थियो। आइतबार प्रहरीले उपस्थित गराएपछि आजका लागि पेसी तोकिएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईंलाई निर्वाचन आयोगको पत्र बमोजिम पक्राउ गरिएको जवाफ सर्वोच्चलाई लिएको थियो। आयोगले प्रसाईंलाई अनुसन्धान गरी कारबाही गर्न फागुन ४ गते प्रहरीलाई पत्र पठाएको थियो।

आयोगले प्रहरीलाई पठाएको पत्र र निर्णय सम्बन्धी सक्कल फायल पनि महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न अदालतको आदेश छ। 

इजलासले नै पेसी तोकेकाले मंगलबार प्रसाईंको विषयमा टुंगो लाग्नेछ। प्रसाईं निर्वाचनको विपक्षमा छन्। उनका समर्थकले रिहाइको माग गर्दै सोमबार माइतीघरमण्डलामा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad