निर्वाचनको मिति जति नजिकिँदै छ, उम्मेदवारहरूको प्रचार शैली उति नै ‘रंगीन’ र ‘अजीव’ बन्दै गएको छ। टिभीको पर्दामा देखिने ऋषि धमलादेखि ढुंगा बोक्ने हर्क साङपाङसम्म र आविष्कारमा डुब्ने महावीर पुनदेखि प्युठानका सूर्य थापासम्म अहिले मतदाताको ‘मन’ र ‘मत’ तान्न अभूतपूर्व दौडधुपमा छन्।
कोही खेतका गरामा पुगेर कोदालो खनिरहेका छन्, कोही गृहिणीसँगै साग केलाउन व्यस्त छन् त कोही बिरामी बोकेर अस्पताल दौडिरहेका छन्। फागुन २१ को महासंग्राम जित्न उम्मेदवारहरूले अपनाएको यो ‘सर्कस’ शैलीले सामाजिक सञ्जालको टाइमलाइन नै भरिएको छ।
अहिलेको चुनावी मैदानमा ऋषि धमला आफ्नै आक्रामक शैलीमा घरदैलोमा छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ ‘श्रम संस्कृति’कै ब्राण्ड बोकेर ढुंगा बोक्न व्यस्त देखिन्छन्। यता वैज्ञानिकको छवि बनाएका महावीर पुन आफ्ना आविष्कार र समृद्धिको एजेन्डासहित जनताको आँगनमा छन् भने एमाले नेता सूर्य थापा प्युठानका भिरपाखामा मतदातासँग आत्मियता साट्न नयाँ–नयाँ जुक्ति खोजिरहेका छन्।
गगनदेखि बालेनसम्मको दौडधुप
काठमाडौँ र बाहिरका क्षेत्रहरूमा गगन थापा, केपी शर्मा ओली, प्रचण्ड र बालेन्द्र शाह जस्ता ‘हेभीवेट’ हरूले समेत मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन्। कोही पहिले पनि भेटेको दाबी गर्दै नाता गाँस्न व्यस्त छन् त कोही फेसबुक लाइभमार्फत आफ्नो मार्गचित्र सुनाइरहेका छन्।
पत्रकार राजेन्द्र दाहाल प्रविधिका कारण उम्मेदवारहरु मतदातामाझ सहजै पुगिरहेका बताउँछन्। “समाजको प्रवृत्तिलाई प्रविधिले विस्तार गरिदिएको मात्रै हो। लक्ष्य उही हो, मतदाताको भोट सङ्कलन गर्ने”, उनी भन्छन्।
प्रचार कि प्रहसन?
उनी भन्छिन्, “लोकप्रिय हुने नाममा अहिले अपनाइएका प्रचारका शैली परिपक्वताको कमी देखिएको समाजले महसुस गरिरहेको छ। सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ।”
उम्मेदवारका लोकरिझ्याइँका शैलीले मतदातामा भने अन्योल बढाएको छ। आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधान प्रचार र शैली मतदातालाई स्वच्छ मतदानका लागि नभई ‘अल्मल्याउने’ खालको भएको टिप्पणी गर्छन्।
Shares

प्रतिक्रिया