राजनीति


रास्वपाले किन स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा?

रास्वपाले किन स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा?

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १७:३८, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनको प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा तय गरेको चुनावी सभा स्थगित गरेको छ। 

रास्वपाले सुदूरपश्चिमबाट ठूला चुनावी सभाको सुरुवात गरेको थियो। रास्वपाले ‘परिवर्तनको उद्घोष सभा’ नाम दिएर फागुन ६ मा धनगढीमा चुनावी सभा गरेको थियो। धनगढीमा आयोजित चुनावी सभामा ठूलो संख्यामा स्थानीय बासिन्दा उपस्थित भएका थिए। 
दोस्रो दिन फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उद्घोष सभा गरेको थियो। सुर्खेतको सभामै रास्वपाले चुनावी घोषणापत्र पनि सार्वजनिक गरेको थियो। 

आज रास्वपाले दाङमा चुनावी सभाका गरेको छ। दाङमा आयोजित चुनावी सभालाई रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्। यसअघि धनगढी र सुर्खेतमा आयोजित चुनावी सभालाई भने सभापति लामिछानेसँगै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गरेका थिए। 

यसपछि रास्वपाले फागुन ९ मा भैरहवा र फागुन १० मा पोखरामा उद्घोष सभा तय गरेको थियो। तर, शुक्रबार बिहान रास्वपा सहप्रवक्ता प्रतिभा रावलले सूचना जारी गरी भैरहवा र पोखराको सभा स्थगित गरिएको जनाएकी छन्। 

रास्वपाको सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ।’

रास्वपाले विशेष भनेको कारण के हो? रास्वपाको रिसर्च टिमका एक सदस्यले चुनावी अभियान परिवर्तन गरिएको बताए। ‘ठूला सभामा केन्द्रित हुँदा मतदाताले दुःख पाए। अनि जिल्ला जिल्लामा पनि प्रचार पुगेन,’ ति सदस्यले नेपालखबरसँग भने, ‘अब हामी आधा घण्टादेखि एक घण्टामा सक्ने कार्यक्रम निर्वाचन क्षेत्रमा केन्द्रित गर्छौं।’

रिसर्च टिमले रास्वपा नेतृत्वलाई साना सभा र घरदैलो कार्यक्रम प्रभावकारी हुने सुझाव दिएको छ। त्यसकै आधारमा रास्वपा नेतृत्वले चुनावी रणनीति परिवर्तन गरेको जनाइएको छ भने भैरहवा र पोखराको प्रदेश स्तरीय उद्घोष सभा स्थगित गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad