प्रतिनिधि सभा निर्वाचन नकिँदै जाँदा निर्वाचन आयोग मतदाता शिक्षा सुरु गर्ने तयारीमा छ। गत निर्वाचनमा मत बदर दर उच्च रहेकाले यस पटक मतदाता शिक्षामा जोड दिन लागिएको छ।
भरखरै सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि मत बदर भएका थिए। जसमा प्रदेश सभा सांसद, गाउँपालिका र नगरका अध्यक्ष तथा मेयर मतदाता थिए।
त्यस्तै, २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि मत बदर उच्च रहेको थियो। आयोगका अनुसार, ५ प्रतिशत मत बदर भएको थियो।
कसरी मत बदर हुन्छ? निर्वाचन आयोगले ८ कारणले मत बदर हुने जनाएको छ।
पहिलो, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्नेगरी छाप लगाउँदा मत बदर हुन्छ। दुई चिह्नबीच दायाँ-बायाँ वा तल-माथितिर बीचको रेखामा छाप लगाउन हुँदैन।
दोस्रो, एकभन्दा बढी चुनाव चिह्नमा मत दिँदा पनि बदर हुन्छ। एक जनाले एउटै चिह्नमा मतदान गर्नुपर्छ।
तेस्रो, स्वस्तिक छाप नबुझिने गरी छाप लगाउँदा मत बदर हुन्छ। एक पटक छाप लगाएपछि राम्ररी नदेखिएको भनेर दोस्रो पटक छाप लगाउनुहुँदैन।
चौथो, चार वटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी छाप लगाउँदा पनि मत बदर हुन्छ। एउटा चुनाव चिह्न रहेको कोठाभित्र पर्ने गरी मात्रै छाप लगाउनुपर्छ।

पाँचौँ, मतपत्रमा स्वस्तिक छापको सट्टा औँठाछाप वा अन्य छाप लगाउँदा वा तथा संकेत गर्दा पनि मत बदर हुन्छ। त्यसैले, स्वस्तिक छाप बाहेक अन्य छाप लगाउने वा संकेत गर्नुहुँदैन।
छैटौँ, कोठाबाहिर छाप लगाउँदा पनि मत बदर हुन्छ। त्यसैले, कोठाभित्र मात्रै छाप लगाउनुपर्छ।
सातौँ, मतपत्र च्यातिएको भए पनि मत बदर हुन्छ। त्यसैले मतपत्र च्यात्नुहुँदैन, जतन गरेर मतपेटिकामा हाल्नुपर्छ।
आठौँ, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुन्छ। त्यसैले मतदान गर्नुअघि मतपत्रमा हस्ताक्षर भए वा नभएको ख्याल गर्नुपर्छ।
Shares

प्रतिक्रिया