राजनीति


भोट दिनु भनेको छोरी दिनुभन्दा ठूलो, फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस्ः लिङदेन

भोट दिनु भनेको छोरी दिनुभन्दा ठूलो, फेसबुक र टिकटक हेरेर निर्णय नगर्नुस्ः लिङदेन

नेपालखबर
माघ २५, २०८२ आइतबार १४:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा नलिन आम मतदातालाई आग्रह गरेका छन्। 

काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक अहिले गम्भीर संकटमा रहेको र निर्वाचनले देशको भविष्य तय गर्ने बताए। अध्यक्ष लिङदेनले राप्रपाले सुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ सम्झौता हुनुपर्ने माग राख्दै आएको स्मरण गराए।

उनले भने, ‘हामीले चुनाव अघि नै देश अनुकुलको मौलिक व्यवस्था निर्माण गर्न सुझाव दिएका थियौँ। तर जबर्जस्त रूपमा देशलाई चुनावतर्फ धकेलिएको छ। एउटा प्रजातान्त्रिक पार्टी हुनुको नाताले हामीले यसलाई उपयोग गर्ने निर्णय गरेका छौँ।’

मतदानको महत्व बुझाउँदै लिङदेनले ‘भोट दिनेकुरा फेसबुक, रिल वा टिकटक हेरेर गर्ने नभएको बताए। यो हात काटेर आफ्नो शक्ति हस्तान्तरण गर्ने कुरा भएको उनको भनाइ छ।

 उनले भने, ‘हामी छोरी दिँदा कति चोटी सोच्छौँ? कुटुम्बको पृष्ठभूमि, आचरण र योग्यता कति परीक्षण गर्छौँं? एउटा छोरी गलत घरमा पर्दा उसले मात्र दुःख पाउँछे, तर एउटा भोट गलत ठाउँमा पर्दा सिङ्गो देशले दुःख पाउँछ।’

सिंहदरबार जलाउन उक्साउने र जोगाउन नसक्ने तत्वहरू अहिले अतिवादतर्फ उन्मुख भएको भन्दै लिङदेनले चिन्ता व्यक्त गरे।

यदि संसद्मा राप्रपा जस्तो सुस्पष्ट विचार भएको शक्ति कमजोर भयो भने देश झन् ठूलो दुर्घटनातर्फ जाने निश्चित रहेको बताए। उनले देशलाई थप द्वन्द्वमा जान नदिन र स्थिरता कायम गर्न राप्रपालाई जिताउनु अनिवार्य रहेको बताए। 

राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र बोकेको नभई विकासको स्पष्ट मार्गचित्र पनि राखेको लिङदेनको दाबी छ। 

उनले भने, ‘हामीले मौका पायौँ भने ५ वर्षभित्र विकास र रोजगारीको मूल फुटाउँछौँ। ४०–५० हजार तलबका लागि हाम्रा युवाहरूले खाडीको गर्मीमा पसिना बगाउनु पर्दैन।’ 

उनले नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा रहने गरी काम गर्ने प्रतिज्ञा समेत गरे।

उनले आगामी फागुन १ गते हुने पूर्वराजाको सवारीमा सबैलाई उपस्थित हुन आग्रह गरे। निर्वाचन फागुन २१ गते भएपनि भोलि नै हो भन्ने ठानेर उच्च मनोबलका साथ प्रचारमा जुट्न उनले कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad