भदौ २३ र २४ को जेनजी विद्रोहपछि हुन लागेको प्रतिनिधि सभाको चुनावका लागि मंगलबार देशभर उम्मेदवारी दर्ता भएको छ।
अघिल्लो चुनावमा जस्तो यसपाली प्रमुख दलले नै चुनावी गठबन्धन गरेका छैनन्। अधिकांश प्रमुख राजनीतिक दलले सबै क्षेत्रमा उम्मेदवारी दिएका छन्। त्यसो हुँदा उम्मेवार पनि धेरै बढेका छन्।
प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा एमालेले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ।
जेनजी विद्रोहको असर नै हुनुसक्छ, धेरैजसो पार्टीले अहिले नयाँ उम्मेदवारलाई प्राथमिकता दिएका छन्। एमालेले पनि सकेसम्म युवा र नयाँलाई पनि उम्मेदवार बनाएको छ।
त्यस्तैमा पर्छिन्, पर्सा-२ बाट उम्मेदवारी दिएकी रिमा यादव।
एमालेले देशभर १० जना महिलालाई उम्मेदवार बनाएको छ। रिमा महिला र युवा दुवैमा पर्छिन। रिमा यो उमेरकी एमालेकी एकमात्र उम्मेदवार हुन्। उनी अहिले २८ वर्षकी भइन्।
पर्साको वीरगन्ज महानगरपालिका- २९ निवासी रिमाको लामो राजनीतिक पृष्ठभूमि छैन।
तर, राजनीतिमा उनको रुची धैरै नै भएकाले उम्मेदवार बनाइएको एमाले पर्साका सचिव महेश दासले नेपालखबरलाई बताए।
उनको परिवारको पुरानो राजनीतिक पृष्ठभूमि चाहिँ कांग्रेस हो। मधेस आन्दोलनपछि मधेसकन्द्रित दल जसपा नेपालमा रहेकोमा यादव परिवार पछिल्लो समय एमालेमा प्रवेश गरेको थियो।
चुनावी मैदानमा आएकी यादवले स्नातक तहसम्मको अध्ययन गरेकी छिन्। केही समय गृहणी बनेकी उनी आफूलाई समाजसेवा गर्न मन लागेकाले राजनीतिमा आएको बताउँछिन्।
पर्सा-२ यसअघि एमालेको धेरै बालियो पकड भएको क्षेत्र भने होइन। अहिले जनता समाजवादी पार्टीबाट प्रदीप यादव लगायतका धेरै युवा नेताहरू आएको र स्वयं युवा उम्मेदवार नै उठाइएकाले जितिने अवस्थामा पुग्ने दाबी एमाले जिल्ला सचिव दासको छ।
२०७९ को चुनावमा यो क्षेत्रबाट नेपाली कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका थिए।
उनले २८ हजार ४ सय ५१ मत पाएर जितेका थिए। तर, एमालेले जनता समाजवादी नेपालसँग तालमेल गरेकाले उसको आफ्नै उम्मेदवार भने थिएन।
एमालेले समर्थन गरेका जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीले २२ हजार ४ सय ४५ मत ल्याएका थिए।
समानुुपातिकतर्फ कांग्रेसले १८ हजार ७ सय ६९ मत ल्याउँदा एमालेले ६ हजार ५ सय ५५ मत मात्रै पाएको थियो।
जसपा नेपालले १२ हजार २ सय ६९ मत ल्याएको थियो।
यद्यपि, एमाले जिल्ला सचिव दास चाहिँ अबको मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै भएको बताउँछन्। 
Shares

प्रतिक्रिया