जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको प्रतिनिधिसभा चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन्।
२०८० वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा बारा २ बाट विजयी भएका यादवले यसपटक सप्तरी ३ बाट उम्मेदवारी दिने तयारी गरेका हुन्।
०७९ सालको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग पराजित बनेपछि यादव कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेर विजयी भएका थिए।
यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पछिल्लो पटक विजयी भएको बारा २ र ०७९ मा पराजित भएको सप्तरी २ लाई नरोजी सप्तरी ३ नम्बर क्षेत्र रोजेका हुन्।
०७९ सालको निर्वाचनमा यादव सप्तरी २ मा सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित बनेका थिए।
राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत मात्रै प्राप्त गरेका थिए।
यसपटक यादवले आफू पराजित बनेको सप्तरी २ भने केही दिनअघि मात्रै प्रचण्ड नेतृत्वको नेकपा त्यागेर जसपा प्रवेश गरेका उमेश यादवको लागि छाडेका छन्।
सो क्षेत्रबाट यसपटक पनि जनमतबाट सीके राउत नै उम्मेदवार हुने चर्चा छ।
जसपाले देशका ११५ भन्दा धेरै स्थानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए। ‘सबैतिर टिकट गइसकेको छ। भोलि हामी उम्मेदवारको नामावली सार्वजनिक गर्नेछौँ,’ नेपालखबरसँग उनले भने।
जसपाले सप्तरी ४ बाट डा.बबी सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको भने सिराहा ४ बाट राजकिशोर यादव र महोत्तरी २ बाट शरदसिंह भण्डारीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
त्यसैगरि धनुषा १ बाट दीपक कार्की, सर्लाही ४ बाट रामेश्वर राय उम्मेदवार बन्ने टुंगो लागेको छ। पूर्वमन्त्रीसमेत रहेका रायले आइतबार मात्रै प्रचण्ड नेतृत्वको नेकपा त्यागेका थिए।
सर्लाही ४ सोमबार मात्रै रास्वपा प्रवेश गरेका पूर्व कांग्रेस नेता डा.अमरेश कुमार सिंह विजयी हुँदै आएको क्षेत्र हो। ०७९ को निर्वाचनमा सिंह सोही क्षेत्रबाट स्वतन्त्र सांसदमा विजयी भएका थिए।
त्यसैगरि रौतहट १ मा जसपाले मेधस प्रदेशका पूर्वमन्त्री योगेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यो क्षेत्रबाट नेकपाले माधव नेपाललाई उम्मेदवार बनाउँदै छ भने एमालेले अजकुमार गुप्तालाई उम्मेदवार बनाउने टुंगो लागेको छ।
अघिल्लो निर्वाचनमा रौतहट १ बाट एमाले नेता गुप्तालाई पराजित गर्दै नेपाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
त्यसैगरि नेता सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४ बाट र हृदयश त्रिपाठीलाई नवलपरासीबाट उम्मेदवार बन्ने टुंगो लागेको नेता शर्माले जानकारी दिए।
Shares

प्रतिक्रिया