राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गर्दैछ। सोमबार हुने सभाको तयारी अन्तिम चरणमा पुगेको रास्वपाले जनाएको छ।
रास्वपाको उद्घोष सभालाई लिएर मधेशको राजनीतिक वातावरण तातेको छ।
सभालाई सम्बोधन गर्न रास्वपामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आइतबार साँझ जनकपुरधाम आइपुगेका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै रास्वपाका वरिष्ठ नेता बालेन जनकपुर आएका हुन्।
सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने रास्वपाका नेताहरुले बताएका छन्।
यो सभालाई आगामी चुनावको तयारीको पहिलो सभाको रुपमा लिइएको छ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, बालेन शाहको राजीनामा, मधेश आन्दोलनको बलिदानी दिवस र मधेश केन्द्रित एजेन्डालाई जोडेर आयोजना गरिएको यो सभालाई रास्वपाले मधेशमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने कडीको रुपमा लिएको छ।
जनकपुरमा बालेनलाई भव्य स्वागत
मेयर पदबाट आइतबार मात्रै राजीनामा दिएपछि रास्वपाको घण्टीघरस्थित केन्द्रीय कार्यालय पुगेर वरिष्ठ नेताको जिम्मेवारी सम्हालेका बालेन शाह आइतबार बेलुका सिधै जनकपुरधाम आइपुगेका हुन्।
जनकपुरधाम विमानस्थलमा उको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए। त्यसक्रममा समर्थकहरूले बालेनको पक्षमा नाराबाजी गर्दै स्वागत गरेका छन्।
विमानस्थलमा बालेनले सञ्चारकर्मीलाई संक्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले जनकपुरधाम आएर समर्थकहरूलाई भेट्न पाउँदा निकै खुसी लागेको बताए।

‘यहाँ आइपुगेर तपाईंहरूलाई भेट्न पाउँदा एकदमै खुसी लागेको छ। साह्रै माया लागेको छ। आज धेरै कुरा गर्दिनँ, भोलिको कार्यक्रमका लागि केही तयारी र व्यवस्थापन गर्नुपर्ने भएकाले, सबै भोलि कार्यक्रमस्थलमै आउनुहोला।’
उनले कार्यक्रमको सुरक्षा र व्यवस्थापनका विषयमा धनुषा जिल्ला प्रहरी प्रमुखसँग छलफल गरिने जानकारी दिँदै समर्थकहरूलाई शान्त र संयमित रहन आग्रह गरे।
मधेशका युवामा उनीप्रति अत्यन्तै ठूलो क्रेज देखिन्छ। बालेनको समर्थक युवाहरुले सेल्फी खिचाउन गरेको भीडका कारण विमानस्थल कार्यालयको सीसा नै फुटेको छ।
जानकी मन्दिरको पूजा कार्यक्रम स्थगित
पूर्वनिर्धारित तालिकाअनुसार बालेन शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजा–अर्चना गर्ने कार्यक्रम तय गरिएको थियो।
तर कार्यकर्ताहरुसँगको भेटघाटमा व्यस्तताको अपरिहार्य कारण देखाउँदै उक्त कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ।
सुरक्षा तथा समय व्यवस्थापनका कारण कार्यक्रम स्थगित गरिएको अनुमान गरिएको छ।
बालेन शाह आज राति जनकपुरधामको होटल मिथिला यात्री निवासमा बस्ने कार्यक्रम छ। उनलाई भेट्नको लागि आइतबार साँझदेखि नै नेता–कार्यकर्ताहरूको जनकपुरमा बाक्लो उपस्थिति देखिएको छ।
बालेन श्रद्धाञ्जली सभामा सहभागी हुने
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्न बालेन भोलि बिहानी सिराहाको लहान जाने कार्यक्रम तय छ।
मधेश आन्दोलनको क्रममा सहिद भएकाहरूको स्मृतिमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ। यही दिनलाई केन्द्रमा राखेर रास्वपाले परिवर्तन उद्घोष सभा आयोजना गरेको हो।
लहानको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएपछि बालेन जनकपुरधाम फर्किएर दिउँसो १ बजेदेखि तिरहुतिया गाँछीमा आयोजना हुने बृहत सभामा सहभागी हुनेछन्।
सो सभामा बालेनसँगै रास्वपाका अध्यक्ष रवि लामिछाने, नेताहरु स्वर्णिम बाग्ले, सोभिात गौतम, पुरुषोत्तम यादव र शिव यादव लगायत सहभागी हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनीहरु सोमबार बिहान जनकपुरधाम आइपुग्ने कार्यक्रम छ।
प्रवक्ता झाले आइतबार साँझ जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। सभामा रवि लामिछाने, बालेन शाहसहित जम्मा १२ जना वक्ताले सम्बोधन गर्ने छन्।
‘पहिलोपटक पार्टी सभापति रवि लामिछाने र बालेन शाह एउटै मञ्चबाट चुनावी उद्घोष गर्नुहुनेछ,’ झाले भने, ‘सभालाई सन्देशमुखी र प्रभावकारी बनाउने उद्देश्यले वक्ताको संख्या सीमित गरिएको हो।’
परिवर्तन उद्घोष सभाकै अवसरमा पूर्व सांसद अमरेश कुमार सिंहसहित विभिन्न चर्चित राजनीतिक व्यक्तित्वहरू रास्वपामा प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
यता सभाका लागि जनकपुरधाममा मञ्च निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

सहरका विभिन्न स्थानमा ‘हामी आउँदैछौँ, माघ ५ गते’ भन्ने नारासहितका होर्डिङ बोर्डहरू राखिएका छन्।
पार्टीका स्वयंसेवक तथा कार्यकर्ताहरू प्रचार–प्रसारमा सक्रिय देखिएका छन् । कार्यक्रममा १५ हजारभन्दा बढी व्यक्ति सहभागी हुने आयोजक पक्षको दाबी रहेको छ।
माघ ५ गतेको परिवर्तन उद्घोष सभालाई रास्वपाले केवल एक सभा मात्र नभई मधेशबाटै नयाँ राजनीतिक सन्देश दिने प्रयासको रुपमा लिएको छ।
Shares

प्रतिक्रिया