पूर्वमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
रायले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर आइतबार पार्टी प्रवेश गरेका हुन्।
मधेसवादी दलबाटै राजनीति सुरु गरेका यादव ०७४ को निर्वाचनअघि तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए। उनी ०७४ को निर्वाचनमा माओवादीबाटै सर्लाही ३ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
निर्वाचन जितेपछि उनी तत्कालीन नेकपाबाट केपी ओली प्रधानमन्त्री हुँदा श्रममन्त्रीसमेत बनेका थिए।
०७९ को निर्वाचनमा माओवादीले सर्लाही-२ मा टिकट नदिएपछि उनी प्रचण्डसँग रुष्ट थिए। त्यतिबेला रायले माओवादी उम्मेदवार नरेन्द्र साहलाई पराजित गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपाले नारायणकाजी श्रेष्ठलाई सर्लाही ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।
आफूले टिकट नपाउने भएपछि रायले नेकपा छाडेका हुन्। अब सर्लाही ३ मा नारायणकाजीसँग जसपाबाट रायको प्रतिस्पर्धा हुने सम्भावना बढेको छ।

यो क्षेत्रमा एमालेले हरि उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। ०७९ को निर्वाचनमा उप्रेती माओवादी उम्मेदवार नरेन्द्र साहलाई पराजित गर्दै विजयी भएका थिए।
त्यतिबेला उप्रेतीले साहलाई ७७० मतान्तरले पराजित गरेका थिए।
उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा साहले ३२ हजार १६८ मत ल्याएका थिए।
०७४ सालको निर्वाचनअघि रामेश्वर राय विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमका उपाध्यक्ष थिए।
०७४ को निर्वाचनमा यादव एमाले-माओवादी गठबन्धनबाट सर्लाही- ३ मा विजयी भएका थिए। त्यसपछि उनी संघीय सरकारमा मन्त्री पनि बने।
तर, ०७९ सालको निर्वाचनमा भने माओवादीले सर्लाही- ३ मा उनलाई टिकट दिएन। माओवादीले अर्का नवप्रवेशी नरेन्द्र साहलाई टिकट दिएपछि राय पार्टी नेतृत्वसँग असन्तुष्ट थिए।
गएको निर्वाचनमा रायले पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोप पनि उनले खेप्दै आएका थिए।
गएको स्थानीय तहको निर्वाचनमा रायको गृहनगरसमेत रहेको चक्रघट्ट गाउँपालिकामा पनि माओवादी पराजित बनेको थियो। रायले चक्रघट्टमा आफ्नै छोरा बिक्रम यादवलाई उम्मेदवार बनाएका थिए। तर, जसपाका कृष्णकुमार यादव चुनावमा विजयी हुँदा यादव तेस्रो भए।
कृष्णकुमार ५ हजार ९१५ मत ल्याएर विजयी हुँदा काँग्रेसका रामजी साह तेलीले ३ हजार ५२१ मत प्राप्त गरेका थिए। बिक्रमले २ हजार १४४ मत मात्रै पाए। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित आफ्नै पालिकाका धेरैवटा वडासमेत माओवादीले गुमाएपछि सर्लाहीमा अहिले रामेश्वर रायको प्रभाव कमजोर बन्दै गएको चर्चा छ।
Shares

प्रतिक्रिया