विभिन्न ६ वटा कम्युनिस्ट पार्टीसँग आबद्ध किसान संगठनहरूले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई बिनासर्त रिहा गर्न अमेरिकासँग माग गरेका छन्।
सोमबार संयुक्त प्रेस वक्तव्य जारी गरी किसान संगठनहरूले राष्ट्रपति मदुरोको ‘गैरकानुनी तथा नैतिकताहीन अपहरण’ को निन्दा गर्दै ‘यो जघन्य आक्रमण एउटा स्वतन्त्र राष्ट्र र सार्वभौम जनताको विरूद्ध गरिएको अन्तर्राष्ट्रिय कानुनहरू, संयुक्त राष्ट्रसंघको बडापत्र तथा राष्ट्रिय सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन हो’ भनेका छन्।
‘यो अमेरिकी साम्राज्यवादले स्वतन्त्र राष्ट्रहरूलाई साम्राज्यवादी प्रभुत्वमा झुकाउन, प्राकृतिक स्रोतहरूको लुट गर्न र समाजवादी क्रान्तिलाई ध्वस्त गर्न चलाइरहेको दीर्घकालीन षड्यन्त्रको निरन्तरता हो’ विज्ञप्तिमा भनिएको छ।
किसान संगठनहरूले राष्ट्रपति निकोलस मदुरो मोरोसलाई तुरुन्त र बिना शर्त रिहाइ गर्न, भेनेजुएलाको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै भेनेजुएलाविरुद्धका सम्पूर्ण सैन्य, राजनीतिक र आर्थिक आक्रमणको अन्त्य गर्न, भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध र नाकाबन्दी खारेज गर्न र ‘यस अपराधका योजनाकार र अपराधीहरूलाई अन्तर्राष्ट्रिय मञ्च तथा विश्व जनमतको अदालतमा जवाफदेही’ बनाउन माग गरेका छन्।
विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका संयोजक बलदेव चौधरी, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यष दुर्गाप्रसाद जैसीको हस्ताक्षर छ।
Shares

प्रतिक्रिया