गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न चुनावी तयारीमा लागि सकेको बताएका छन्।
बिहीबार अध्यागमन विभागले काठमाडौँमा आयोजना गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)को उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्य सुरु भएको सूचना प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने बताए।
यस्तै, विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत, बसाइँलाई प्रभावकारी बनाउन सूचना प्रणाली प्रभावकारी हुने बताए।
विदेशी नागरिकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न, उनीहरूको नेपाल बसाइँका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न, अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्व स्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणाली सहयोगी बन्ने तिवारीको भनाइ छ।
Shares

प्रतिक्रिया