सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको दाबी गरेका छन्। जनमत पार्टीको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको जिकिर गरे।
मन्त्री खरेलले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुन तयार रहेको र आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए। उनका अनुसार जनमत पार्टी पनि निर्वाचनको तयारी अवस्थामा रहेको छ। सबै दलहरू निर्वाचनमा सक्रिय भएको देख्दा सरकार उत्साहित भएको उनको भनाइ छ।
‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल गरेका छौँ,’ खरेलले भने, ‘जनमत पार्टी पनि चुनावका लागि तयारी अवस्थामा छ। फागुन २१ गते सरकारले चुनाव गर्दैछ। हामी जति दलका कार्यालयमा गयौँ, सबैबाट चुनावको वातावरण बनिसकेको र चुनावका लागि तयार रहेको सन्देश पाएका छौँ। त्यसैले सबै दल चुनावमा होमिनुपर्छ भन्ने निष्कर्षसहित सरकार उत्साहित भएर अघि बढेको छ।’
सरकारद्वारा गठित राजनीतिक संवाद समितिका तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गर्दै विभिन्न राजनीतिक दलका कार्यालयहरूमा छलफलमा जुटिरहेका छन्।
Shares

प्रतिक्रिया