पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (पुस ६ गते) भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।
उनको सचिवालयले आज (आइतबार) बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा महत्त्वपूर्ण विचार-विमर्श गर्नेछन्।
यस्तै उनले भारतको प्रतिष्ठित संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा ‘साउथ एसियाज् डेमोक्र्याटिक फ्युचर : युथ, टेक्नोलोजी एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ विषयमा ‘किनोट स्पिच’ दिनेछन् भने नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (एसएएफपीआई) ले आयोजना गर्ने विशेष कार्यक्रममा प्रमुख वक्ता बन्ने विज्ञप्तिमा उल्लेख छ।
भारत भ्रमण सकेर पूर्वप्रधानमन्त्री पुस ९ गते स्वदेश फर्किने उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिएकी छन्।
आफ्नो भ्रमणले नेपाल-भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास भट्टराईले लिएका छन्।
Shares

प्रतिक्रिया