गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री तिवारीलाइ सरूवा गरी गृहमन्त्रालय बोलाएको छ। उनी फिर्ता भएपछि खाली भएको म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा रवीन्द्र आचार्यको सरुवा भएका छन्।
आचार्य यसअघि मन्त्रालयको सूचना अधिकारीको जिम्मेवारीमा थिए।
सिंहदरबार बोलाइएका सिडीओ तिवारी भिजिट भिषा प्रकरण उत्कर्षमा पुगेको समयमा तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिवालयमा थिए। मन्त्री-कर्मचारी-दलालको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिषामा मानव तस्करी भइरहेको विषय सार्वजनिक भएपछि उनी सिडीओ बनेर म्याग्दी गएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। अख्तियारले मुद्दा दायर गरेकाहरू लेखककै कार्यकालमा मन्त्रालय, अध्यागमनमा भएकाहरू धेरै छन्।
लेखकको कार्यकालका कर्मचारी प्रशासन महाशाखाका प्रमुख समेतलाइ मुद्दाको तयारी भइरहँदा भइरहँदा तिवारी सिंहदरबार फर्किएका हुन्।
रवीन्द्र आचार्यलाई प्रजिअ बनाएर पठाएसँगै मन्त्रालयले रिक्त रहेको सूचना अधिकारीको जिम्मेवारी उपसचिव रमा आचार्य (सुवेदी) लाई दिइएको छ। सूचनामा अपडेट रहने उनी सञ्चारमैत्री कर्मचारी मानिन्छिन्।
Shares

प्रतिक्रिया