प्रधानमन्त्री सुशीला कार्कीले आज (मंसिर २६ गते) चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्।
आज उनले मन्त्रिमण्डलमा चार मन्त्री थप्न लागेकी हुन्।
त्यसका लागि प्रधानमन्त्री कार्कीले कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्।
सोबमोजिम अहिले दिउँसो ३ बजे इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंलाई वन तथा वातावरण र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पदको शपथ खुवाइँदै छ।
यस्तो छ उनीहरूको पृष्ठभूमि:
कुमार इङनाम
कुमार इङनाम अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन्। हाल उनी 'काठमाडौं स्कुल अफ ल'मा प्राध्यापक छन्। यसअघि उनी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे। इङनामले थुप्रै किताब लेखेका छन्।
राजेन्द्रसिंह भण्डारी
राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुख हुन्।
माधव चौलागाईं
माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। उनले कर्णाली क्षेत्रका विषयमा गहन अनुसन्धान गरेका छन्।
उनले 'सपादलक्ष कर्णाली' पुस्तक लेखेका छन्। साथै उनले 'मान्ठ हुँ म मान्ठ' गीत पनि लेखेका छन्।
श्रद्धा श्रेष्ठ
श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन्। उनी पर्यटन बोर्डमा 'सस्टेनेबल टुरिजम' परियोजना प्रमुख थिइन्।
आज चार मन्त्री थपिएपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुनेछ।
यसैबीच योसँगै तीन मन्त्रालय सम्हालिरहेका अनिलकुमार सिन्हाको भने एउटा मन्त्रालय फेरिने भएको छ।
कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइने भएपछि यसको सट्टामा सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।
बाँकी दुई मन्त्रालय- उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी भने उनको यथावत् रहनेछ।
Shares

प्रतिक्रिया