राजनीति


विश्वप्रकाशले भने– निर्वाचन वैशाखमा गर्दा उपयुक्त

‘जेनजीसँग सहमती गर्दा सरकारले राजनीतिक दल लोकतन्त्रका सारथी हुन् भन्ने हेक्का राखेन’
विश्वप्रकाशले भने– निर्वाचन वैशाखमा गर्दा उपयुक्त

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १०:५७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभाको चुनाव आगामी वैशाखमा भए पनि स्वीकार्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् शर्माले फागुन २१ गतेको निर्वाचन सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा त्यसलाई स्वीकार गर्ने बताएका हुन्। 

शर्माले फागुन २१ गतेको निर्वाचन वैशाखमा सार्नु तीन कारणले उपयुक्त हुने तर्क पनि गरेका छन्। जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र नेपाली हिमाली क्षेत्रलाई सहज बनाउन पनि वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनले उल्लेख गरेका छन्। 

उनले सरकार र जेनजीबीच दुई दिनअघि भएको सहमतिलाई स्वागत गरेका छन्। 

‘विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलतः जेनजी प्रदर्शनले स्थापित गरेको सुशासनको संकल्प र अठोट आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ।’

उनले जेनजीसँग सहमति गर्दा सरकारले राजनीति दलहरुलाई सहभागी नगराएकोमा भने आलोचना गरेका छन्। 

‘राजनीतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो,’ शर्माले भनेका छन्, ‘त्यसो गरेर भोलिकालागि भरपर्दो बनाउन सरकार नचुक्नु पर्थ्यो।अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ।’

उनले गएको भदौ २३ को बल प्रयोग उपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन्। 

उनले जेनजी र सरकारबीचको दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को लागि घोषित निर्वाचनको मिति बाधक बन्नुहुन्न भन्नेमा जोड दिएका छन्। 

‘हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौँ। तर मुल प्रश्न समाधान र संविधान हो, अत जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर बैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ।
सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad