राजनीति


महासचिव पदमा तीन नेताको सशक्त दाबीले दबाबमा ओली

ओलीलाई प्रदीप र पृथ्वीसुब्बाको प्रश्न- महासचिवको जिम्मेवारी नपाउनु पर्ने कारण के छ?
महासचिव पदमा तीन नेताको सशक्त दाबीले दबाबमा ओली

सागर न्यौपाने
मंसिर २६, २०८२ शुक्रबार १०:१५, काठमाडौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहकै तीन जना नेताले एघारौँ महाधिवेशमा महासचिव पदमा दाबेदारी दिएका छन्। 

अहिले महासचिव नै रहेका शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले अध्यक्षपछिको प्रभावशाली पदका लागि दाबी गरेका हुन्। 

आफ्नै समूहबाट एउटै पदमा तीन नेताले अडान राख्दा नेता व्यवस्थापनमा ओलीलाई सकस परेको छ। चितवनमा भएको दसौँ महाधिवेशनमा महासचिव निर्वाचित पोखरेललाई दोहोर्‍याउने अध्यक्ष ओलीकै चाहना हो।

नेता व्यवस्थापन सहज बनाउने उपाय ठानेर उनले यो योजना अघि सारेका थिए। तर, ज्ञवाली र गुरुङ यसमा सहमत छैनन्। उनीहरू दुवैले अध्यक्ष ओलीलाई भेटेर आफूहरू महासचिव हुन नहुने कारण के हो भनेर सोधेका छन्। 

पहिलो वरीयताका उपमहासचिव प्रदीप ज्ञवालीले आफू महासचिवको स्वाभाविक दाबेदार भएको बताए।

स्कुल विभागमा बसेर चार वर्ष काम गरेको, अध्यक्ष ओलीको पक्षमा डटेर लागेकोले महासचिव आफूलाई बनाउनुपर्ने उनको भनाइ छ। ज्ञवाली ओलीको कोर टिममा छन्। 

तर, पोखरेललाई फेरि दोहोर्‍याउने तयारीप्रति ज्ञवाली खुसी छैनन्। उनले भक्तपुर गुन्डुस्थित निवासमै पुगेर ओलीसँग यसबारे लामो छलफल गरेका छन्।

‘म किन महासचिव हुन नपाउने? म त अहिले भएका नेताभन्दा सिनियर हुँ, पार्टीमा मेरो योगदानमा कहाँ कमजोरी भयो?’ ज्ञवालीले ओलीसँग गरेको जिज्ञासा उद्धृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, ‘म नेतृत्वको पक्षमा सतिसालझैँ उभिएको छु।’

उनीहरूबीच केही घण्टा कुराकानी भएको थियो। तर, ओलीले ज्ञवालीलाई प्रस्ट जवाफ नदिएको ती नेताले दाबी गरे। 

‘अध्यक्षले खासै जवाफ दिनुभएन, सल्लाह गर्छु मात्रै भन्नुभयो,’ उनले थपे। 

उपमहासचिव गुरुङले पनि ओलीलाई भेटेर आफूलाई न्याय गर्ने बेला आएको जानकारी गराएका छन्।

‘महासचिवमा मेरो सशक्त दाबेदारी छ, छोड्नुपर्ने कारण के छ र?’ उनले भने, ‘अन्तिमसम्म लड्ने हो। अरु कुरा छैन।’

‘म विद्रोह गर्दिनँ, त्यो राम्रो हुँदैन। तर, महासचिव दिनैपर्छ भन्ने मेरो अडान हो,’ उनले थपे, ‘महासचिवमा सबैभन्दा सशक्त दाबेदार त मै हुँ नि। पार्टीमा न्याय गर्ने पनि मैले हो,’ उनले थपे।

तर, नवौँ र दसौँ महाधिवेशनमा जस्तै यसपटक पनि ओलीले कसैलाई वचन दिइसकेका छैनन्। उनी नेताहरूको सूची बनाएर बसेका छन्। 

‘अध्यक्षले अन्तिममा टुंगो लगाउनुहुन्छ,’ ओलीनिकट अर्का एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अगाडि गरेर ठीक हुन्न, रोइकराइ गर्छन् भनेर अन्तिम अवस्थामा घोषणा गर्ने गर्नुभएको छ। त्यसो गर्दा कसैले विरोध गर्नै पाउँदैनन्। नवौँ र दसौँ महाधिवेशनमा पनि यही विधि अपनाउनुभएको हो।’

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा लड्न तयारी तीव्र पारेपछि अध्यक्ष ओली दबाबमा छन्। 

किनकि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा उम्मेदवारी घोषणा गरेका पोखरेलले अन्य पदाधिकारी घोषणा गरेका छैनन्। उनी ओलीले टिम घोषणा गरेपछि मात्र प्यानल बनाउने रणनीतिमा छन्। 

ओलीले नेताको व्यवस्थापन गर्न नसकेपछि असन्तुष्ट भएका नेतालाई तानेर उम्मेदवार बनाउने विद्या–ईश्वर समूहको योजना छ। यही कुरा बुझेका ओलीले पनि कुनै नेतालाई अहिले वचन नदिएको उपाध्यक्ष गुरु बरालले बताए।

‘महासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवालीजीहरूले अनौपचारिक रुपमा छलफल गर्नुभएको छ। अध्यक्षले विश्वासिलो सेट बनाउनेगरी एक जनालाई अघि सार्नुहुन्छ’ उनले भने।  

तर, ओलीनिकट अर्का नेताले अध्यक्ष, केही उपाध्यक्ष र महासचिव पुरानै दोहोरिने ठोकुवा गरे।

‘कम्तीमा ७ जना पदाधिकारी यसपटक पनि दोहोरिनुहुन्छ,’ ती नेताले भने, ‘महासचिवमा केही रस्साकस्सी छैन, जसले खाइरहनु भएको छ, उहाँले फेरि खानुहुन्छ। हरेक उपमहासचिव महासचिवको लागि योग्य उम्मेदवार हुन्। म योग्य छु, म पनि काम गर्छु भन्न पाइन्छ।’

केही नेताको बढुवा गरेर पनि नेता व्यवस्थापनको तयारी भइरहेको ओली निकट नेताहरू बताउँछन्। त्यसकै लागि विधान संशोधन थरेर पदाधिकारी संख्या बढाउन लागिएको हो।

एमालेले भदौ २०–२२ सम्म ललितपुरमा दोस्रो विधान महाधिवेशन गरेको थियो। जसले पदाधिकारी संख्या १५ मा झारेको थियो। यस्तै, केन्द्रीय कमिटीको आकार पनि २५१ मा सीमित गरेको थियो। 

‘विधान संशोधन छलफलबाट अगाडि बढाउँछौँ। पदाधिकारी संख्या बढाउने योजना थियो। तर, ईश्वर पोखरेल समूह त्यसको विरोधमा उत्रिएपछि छलफल गर्न सचिवालय बैठक बस्दैछ,’ उनले भने, ‘बदलिएको राजनीतिक चुनौतीहरूलाई सम्बोधन गर्न पार्टी लचिलो हुनुपर्छ।’

त्यसो हुँदा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी थप हुन्छन्। आफ्ना नेताको व्यवस्थापन गर्नुपर्ने भएपछि विधान महाधिवेशन गरेको ३ महिनामै ओलीले विधान संशोधन गराउन लागेका हुन्। 

शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्नेछ। एमालेको महाधिवेशन मंसिर २७–२९ सम्म हुँदैछ। यो महाधिवेशनमा ओली र विद्या–ईश्वर समूह गरी दुई गुट बनेको छ। 

ओलीले यसपटक आफ्नो पूरै सेट जिताउन लगातार महाधिवेशन प्रतिनिधि भेटिरहेका छन्। सबैलाई गुण्डु निवासमै बोलाएर उनले प्रशिक्षण दिएका छन्। आफ्नो पक्षमा माहोल बनाइरहेका छन्। नेताहरूका अनुसार राति अबेरसम्म पनि उनी जागै बसेर भेटघाट गर्ने गर्छन्।

‘साँझ ७ बजेदेखि रातिसम्म भेट्नेको ताँती लाग्छ, कहिलेकाहीँ त बिहान ३ बजेसम्म पनि भेटघाट चल्छ,’ एक नेताले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad