नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन ब्युँताउने कोसिस सुरु गरेका छन्। जेनजी आन्दोलनबाट सत्ताच्युत हुनुअघिसम्म कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री थिए।
आन्दोलनपछि पहिलो पटक ओलीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित उनको निवासमै पुगेर भेट गरेका छन्। भेटमा ओलीले आगामी दिनमा राजनीतिक सहकार्य गर्ने र राष्ट्रिय सभाको चुनाव पनि मिलेर लड्ने प्रस्ताव राखेको निकटस्थ नेताहरूले बताएका छन्।
ओली दम्पती र देउवा दम्पतीबीच छलफल भएका विषयबारे औपचारिक रूपमा भने केही बताइएको छैन। तथापि, भेटलगत्तै आइतबार कांग्रेसले संसद् पुनर्स्थापना माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेको छ। एमालेले मंसिर ९ गते नै सर्वाेच्चमा यससम्बन्धी रिट दायर गरेको थियो।
देउवा–ओली भेटपछि रिट दायर गर्ने समझदारी भएको विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। वारेसमार्फत रिट दिएको उनको भनाइ छ।
विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले पनि देउवा–ओलीबीच रिट दायर गर्ने विषयमा छलफल भएको बताए।
‘सल्लाह भएरै कांग्रेस संसद् पुनर्स्थापनाको माग लिएर अदालत गएको हो,’ बर्ताैलाले भने, ‘कांग्रेस सभापति र हाम्रो अध्यक्षबीचको भेटपछि विकास भएको घटनाक्रम हो। कांग्रेस संसदीय दलको नेता (देउवा) को निर्देशन बमोजिम नै रिट दायर भएको हो।’
जेनजी आन्दोलनका कारण भदौ २४ गते कांग्रेस-एमाले गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्। त्यसलाई स्वीकृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते चुनाव गर्नेगरि मिति तोकेका थिए।
राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव
देउवासँग भेट्न महाराजगञ्ज पुगेका ओलीको मुख्य ध्यान भने प्रदेश सरकार र राष्ट्रिय सभा सभा निर्वाचनमा केन्द्रित थियो।
ओलीले प्रदेशमा रहेको गठबन्धन समेत कायम राखेर जानुपर्ने बताएका छन्। अहिले मधेस बाहेक ६ वटै प्रदेशमा कांग्रेस-एमाले गठबन्धन कायम छ।
मधेस प्रदेशमा भने एमालेलाई बाहिर राखेर कांग्रेसको नेतृत्वमा अन्य दलहरूको सरकार बनेको छ। यसले झस्किएका ओलीले अन्य प्रदेशमा पनि सरकार हेरफेर हुन नदिन देउवासँग निकटता बढाइरहेको नेताहरू बताउँछन्।
यसैगरि फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिन लागेको छ। जसमा एमालेका सबैभन्दा बढी ८ जना छन्।
यस्तै, सांसद पद जानेमा तत्कालीन माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, राष्ट्रपतिबाट मनोनीत १, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन्।
यसका लागि सरकारले आगामी माघ ११ गते निर्वाचनको मिति तोकेको छ।
जेनजी आन्दोलनपछि तितरबितर बनेको गठबन्धन फेरि सक्रिय पारेर राष्ट्रिय सभामा आफ्ना नेता जिताउने योजनामा ओली छन्।
‘एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभामा मिलेर जाने प्रस्ताव राख्नुभएको हो,’ देउवाको विश्वासपात्र एक नेताले नेपालखबरसँग भने।
उनका अनुसार देउवाले यसबारे जवाफ दिइसकेका छैनन्।
‘त्यो कहाँ तुरुन्तै सम्भव हुन्छ र पार्टीभित्र कुरा नगरीकन!’ उनी भन्छन्।
देउवाले यसबारे आफ्नो मनसाय निकटस्थहरूलाई पनि नसुनाएको उनको भनाइ छ।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक घिमिरेले एमालेसँगको गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषय टुंगो नलागेको बताए।
एमालेसँगको सल्लाह र सहमति अनुसार नै संसद पुनर्स्थापनामा कांग्रेस गइसकेकोले यो सहकार्य लम्बिन सक्ने उनको भनाइ छ।
‘गठबन्धन कन्टिन्यु हुनसक्छ,’ घिमिरेले भने, ‘अहिले सामान्य छलफल सुरु भएको छ, दुई पक्षीय र पार्टीभित्र छलफल भए पनि टुंगिएको छैन। चुनाव आउन अझै समय बाँकी छ।’
‘तत्काल अर्काे गठबन्धन बन्ने सम्भावना छैन। किनकि, गठबन्धन बनायो भने माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँग हो तर, त्यो दलसँग अहिले भइहाल्छ जस्तो लाग्दैन। विश्वास गरिहाल्ने अबस्था, वातावरण बनिसकेको छैन,’ उनले थपे।
कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका आइसकेकोले खासै अलमल गर्नुपर्ने कारण नभएको उनले बताए।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय सभामा मिलेर जानुपर्ने बाध्यता भएको बताए।
‘राष्ट्रिय सभाका विषयमा के गर्ने, कुराकानी होला। गठबन्धन नगरी सिट आउँदैन,’ महतले नेपालखबरसँग भने, ‘नोमिनेसनको नजिक पुगेपछि केही निष्कर्ष निस्किएला।’
तर, एमालेसँग मिलेर जाने विषयमा कुनै निर्णय नभएको उनले बताए।
‘अरु मिल्ने, हामी नमिल्ने हुँदा सिट आउँदैन,’ महतले थपे, ‘मिल्ने नै हुँदा कोसँग कसरी हुन्छ, सम्भावना के छ, अहिले यसै भन्न सकिँदैन।’
एमालेका एक पदाधिकारीले भने कांग्रेस सभापति देउवासँग राजनीतिक संवाद मात्र भएको र गठनबन्धनको कुरै नभएको दाबी गरे।
‘कांग्रेस र एमालेजस्ता शक्तिहरू औँसी-पूर्णे लागेर, कहिले के गर्ने भन्ने दल होइनन्, लामो संघर्षबाट स्थापित भएका राजनीतिक शक्ति हुन्,’ ती पदाधिकारीले भने, ‘राष्ट्रिय सभाको विषयमा औपचारिक छलफल भइसकेको छैन।’
निर्वाचन आयोगले भने अनुसार दल अद्यावधिक गराउने काम गरिसकेको र अब पार्टीको महाधिवेशन सकेपछि मात्र यसबारे छलफल अघि बढ्ने उनले जानकारी दिए।
एमालेको मंसिर २७-२९ एघारौँ महाधिवेशन काठमाडौँमा हुँदैछ।
‘अब हामी पूर्णरूपमा महाधिवेशन केन्द्रित छौँ। महाधिवेशन सकेपछि आउँदो नेतृत्वमार्फत कांग्रेससँग संवाद छलफल हुन सक्छ,’ अध्यक्ष ओलीका विश्वासपात्र ती नेताले थपे, ‘एकल चुनाव लड्ने कि गठबन्धन गर्ने, त्यही बेला निर्धारण हुन्छ।’

यी हुन् राष्ट्रिय सभामा पदावधि सकिन लागेका १९ जना
फागुन २० मा पदावधि सकिने एमालेका ८ जनामध्ये राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे पनि एक हुन्।
यस्तै, एमालेका इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट र सुमित्रा बीसीको पनि कार्यकाल सकिँदैछ।
यसैगरी तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवानको फागुन २० देखि पदावधि सकिँदैछ।
तत्कालीन एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव, लोसपाका शेखरकुमार सिंहको पनि पदाविधि सकिनेछ।
राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको समेत फागुन २० मै कार्यकाल सकिँदैछ। गौतम अहिले नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशका सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता छन्। यसमा सबैभन्दा बढी कांग्रेसका छन्। त्यसपछि दोस्रोमा एमालेका जनप्रतिनिधि छन्।
कांग्रेस वा एमालेले जोसँग गठबन्धन गर्यो, उसैले चुनाव जित्ने भएकाले पनि गठबन्धनको प्रयास भइरहेको छ।
Shares

प्रतिक्रिया