प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बस्न लागेको सर्वपक्षीय बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टी पनि सहभागी हुने भएका छन्।
शुक्रबार अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच छलफल हुन लागेको हो।
सुरुमा विघटित प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दललाई मात्रै निमन्त्रणा गरिएको थियो। तर पछि जनमत र जसपालाई पनि बैठकको लागि खबर गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै जनमत र जसपासँग पनि छलफल गर्न लागेकी हुन्।
आजको बैठकमा निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुने बताइएको छ।
आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। तर, अझै एमालेले भने निर्वाचन हुनेमा संशय व्यक्त गरिरहेको छ।
Shares

प्रतिक्रिया