ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन्।
बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताए। उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए।
मन्त्री घिसिङले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए। उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने धेरै नागरिकको चासो छ। त्यही कारण उज्यालो पार्टी जन्मेको हो। अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्वहरु, संस्थाहरु र पार्टीहरुले गर्नुपर्छ। यसको लागि आम जनसमूदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो बुझाई छ। अब सबै नयाँ र वैकल्पिक साथिहरु एकठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाइए परिणाममा बदल्नुर्छ। यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ।’
घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गरे।
बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ।
घिसिङले भने, ‘बिग्रिएको बेला सबैले गाली गर्ने तर जुनबेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरी पनि परिवर्तन आउँदैन। यो परिवर्तनको लागि देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली जनताले योगदान गर्नुपर्छ। एकदुई जनाको योगदानले हुदैन सबैले एकमत भएर लाग्नुपर्छ। मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो। अहिले एकताका लागि केही साथिहरु लागिरहनुभएको छ। अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन।’
उनले नेपालको समृद्धिको आधार भनेको सुशासन हो भन्दै भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार भएको बताए। जेनजीले उठाएका मागहरू को सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्नेमा जोड दिए।
‘भ्रष्टाचारमुक्त देश बनाउन सक्यौं भने मात्र हामी समृद्धितर्फ अगाडि बढ्छौं’ उनले भने, ‘अब राजनीतिमा पनि सही व्यक्तिहरु आउनुप¥यो। बाहिर बसेर गालि गरिरहने तर राजनीतिमा आउन नचाहाने प्रवृत्तिले देश परिवर्तन हुँदैन।’
राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उनको जोड थियो।
मन्त्री घिसिङले प्रमुख अतिथिको रुपमा पार्टी घोषणा सभाको सम्बोधन गरेका हुन्।
Shares

प्रतिक्रिया