नव गठिन नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)को राजेन्द्र श्रेष्ठ समूहबीच आज पार्टी एकता हुने भएको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार दिउँसो १ बजे एकता घोषणा कार्यक्रम राखिएको नेकपाले जनाएको छ।
समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, जसपाका नेता राजेन्द्र श्रेष्ठसहितले सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपाले अशोक राई नेतृत्वको जसपासँग एकताको लागि वार्ता गरे पनि पछि राई पक्ष एकताबाट पछि हटेको हो। राई पछि हटे पनि जसपाबाट संघीय परिषद् अध्यक्ष श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुन लागेका हुन्।
नेताहरु राजेन्द्र श्रेष्ठ, रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा.पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजुले मंसिर ७ गते नै नेकपासँग एकता गर्ने घोषणा गरेका थिए। उनीहरू सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
गएको कात्तिक १९ गते प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादीसहित एक दर्जन कम्युनिस्ट समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेकाे हाे।
पार्टी घाेषणापछि पनि प्रचण्ड नेतृत्वकाे याे पार्टीमा अन्य वामपन्थी समूहहरू समायाेजन हुने क्रम जारी छ।
Shares

प्रतिक्रिया