राजनीति


सिमरा घटना: जेनजीमाथि हातपात गर्ने एमालेका २ वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति

सिमरा घटना: जेनजीमाथि हातपात गर्ने एमालेका २ वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:४५, काठमाडौँ

बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध ७ दिनको म्याद थप भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थप भएको जानकारी दिए।  

बुधबार सिमरामा भएको जेनजीको प्रदर्शनमा कुटपिटमा उत्रिएका उनीहरूलाई प्रहरीले आजै पक्राउ गरेको थियो। 

'घटनामा संलग्न २ जनालाई पक्राउ गरेर आज ७ दिनको म्याद थप भइसकेको छ,' उनले नेपालखबरसँग भने। 

उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए। दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।  

घटनामा संलग्न अन्यलाई पनि पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्। 

अवरुद्ध सडक खुलाउनेक्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो। बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।  

आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। 

उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए। 

आज पनि प्रदर्शन जारी भएपछि बारा प्रशासनले जेनजी प्रतिनिधिहरूलाई वार्तामा बोलाएको छ। 'हामीले उहाँहरूलाई वार्तामा बोलाएका छौँ। निरन्तर छलफलमै छौँ,' उनले भने, 'उहाँहरू अहिलेसम्म आउनु भएको छैन। तर वार्ताका लागि सकारात्मक भने हुनुहुन्छ।' 

बुधबारदेखि अशान्त रहेको सिमरामा कर्फ्यु जारी छ। तर पनि जेनजीले प्रदर्शन जारी राखेका छन्। उनीहरूले सडक अवरुद्ध गरेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। 

सिमरामा बुधबार जेनजी र नेकपा एमालेका नेता कार्यकर्ताबीच झडप भएको थियो। त्यसपछि खलबलिएको यहाँको अवस्था आज बिहीबार पनि उस्तै छ। 

प्रदर्शन जारी राखेका जेनजीलाई जिल्ला प्रशासन कार्यालय बाराले छलफलका लागि आह्वान गरेको छ। 


प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार  मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूलाई  वार्तामा बोलाएका हुन्। जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो। 

उता जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।  

प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्।  

प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्। 

जेनजीले भने कुटपिटमा संलग्न एमाले कार्यकर्ता अरविन्द साहलाई पनि पक्राउ गरेपछि वार्तामा बस्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad