केन्द्रीय सुरक्षा समितिले प्रदेशस्तरीय निर्वाचन सुरक्षा कमान्ड तथा निर्वाचन सेल गठन गर्ने निर्णय गरेको छ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सरुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतिको प्रस्तुति, छलफल एवम् सोको समीक्षा र विश्लेषणसमेत गरिएको छ।
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजबुत सुरक्षा व्यवस्था गर्न ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ तयार भै चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा पठाई कार्यान्वयन चरणमा रहेको छ।
निर्वाचन सुरक्षा योजना, २०८२ मा प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी आमन्त्रित रहने गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल रहने प्रबन्ध रहेकोले सबै प्रदेशका प्रमुख सचिवलाई सो मुताविक कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रियरूपमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ।
यस्तै, वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
Shares

प्रतिक्रिया