प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको भारत भ्रमण हुन्थ्यो वा हुँदैनथ्यो, ओलीको निम्तो मानेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपाल भ्रमण गर्थे वा गर्दैनथे– २३ भदौको जेन–जी आन्दोलनका कारण नेपालमा सत्ता परिवर्तन भएपछि यी अनुमानका विषय बनेका छन्।
तर, एक भारतीय प्रभावशाली अधिकारीको नेपाल भ्रमण भने जेन–जी आन्दोलनका कारण भएको सत्ता परिवर्तनका कारण स्थगित हुन पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नेपाल भ्रमण यहाँको राजनीतिक परिवर्तनका कारण स्थगित भएको उच्च स्रोतहरूले जनाएका छन्।
पाकिस्तानसँगको द्वन्द्वका कारण भारतले केही वर्षयता दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सट्टा दक्षिण एसिया र दक्षिण पूर्व एसियाका राष्ट्रहरूलाई समेटेर निर्माण गरिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) लाई महत्व दिन थालेको छ।
भारतका अलावा भुटान, बंगलादेश, म्यानमार (बर्मा), नेपाल, थाइल्यान्ड र श्रीलङ्का सदस्य राष्ट्र रहेको बिमस्टेकले सन् २०१७ यता प्रत्येक वर्ष सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठक गर्दै आएको थियो। कोभिड महामारीका कारण रोकिएको बैठकलाई सन् २०२४ यता फेरि निरन्तरता दिइएको छ।
त्यसमध्ये सन् २०२५ को वार्षिक बैठक नेपालमा गर्ने निर्णय गतसाल म्यानमारको राजधानी न्यापितमा भएको राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठकले गरेको थियो। त्यसअघि सन् २०१९ मा तेस्रो बैठक ब्याङ्कक (थाइल्यान्ड), दोस्रो बैठक सन् २०१८ मा ढाका (बंगलादेश) र सन् २०१७ मा पहिलो बैठक नयाँदिल्ली (भारत) मा भएका थिए।
खासमा राष्ट्रिय सुरक्षा प्रमुखहरू संलग्न संयन्त्रको निर्माण पनि भारतको जोडबलमा भएको हो। राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठकमा भारतको प्रतिनिधित्व राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गर्दै आएका छन्। नेपालको जिम्मामा परेकाले यसपटकको बैठकमा पनि डोभाल नै आउने पक्का थियो।
‘बैठकको मिति कहिले तय गर्ने विषयमा छलफल हुन थालेको थियो, तर अकस्मात नेपालमा जेन–जी आन्दोलन भयो र राजनीतिक परिवर्तन हुन पुग्यो,’ एक उच्च सुरक्षा स्रोतले भन्यो, ‘यहाँ भएको राजनीतिक परिवर्तन र चुनावी तयारीमा लाग्नुपर्ने भएका कारण त्यो बैठक अब काठमाडौँमा नहुने पक्का भइसकेको छ।’
बिमस्टेकको ढाका मुख्यालयले राष्ट्रिय सुरक्षा प्रमुखहरूको बैठक कहिले गर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरूसँग परामर्श सुरु गरेको छ। बैठकका लागि श्रीलंकाको राजधानी कोलम्बो वा भारतको राजधानी नयाँदिल्ली प्रस्ताव गरिएका छन्। नयाँदिल्लीमा पहिलो बैठक भइसकेकाले आगामी बैठक कोलम्बोमा हुनसक्ने सम्भावना बढी छ।
त्यसो त, सबैजसो मुलुकमा राष्ट्रिय सुरक्षा सल्लाहकार वा राष्ट्रिय सुरक्षा प्रमुख जस्ता निकाय छन्। बिमस्टेक राष्ट्रमध्ये नेपाल र भूटान मात्र त्यस्ता मुलुक हुन्, जहाँ यस्ता निकाय स्थापना गरिएको छैन। न्यापित (म्यानमार) बैठकताका पूर्व मुख्यसचिव शंकरदास बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार भए पनि म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले बैठकमा नेपालको प्रतिनिधित्व गरेका थिए।
Shares

प्रतिक्रिया