नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले पार्टी विशेष महाधिवेशनमा जान नहुने धारणा राखेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको बेला कोइरालाले यस्तो बताएका हुन्।
'यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न। तर विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ,' उनले भने, 'पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजेर जानुपर्छ।'
कोइरालाले आजको मुख्य विषय फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन भएको पनि बताए।
'आजको मितिमा मुख्य विषय फागुन २१ को निर्वाचन हो। सो निर्वाचनमा जान हामीले सबै राजनीति दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनु नेपाली कांग्रेसको दायित्व हो। यतिबेला नेपाली काँग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सहि दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो,' उनले भने, 'त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ। तर निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यतिबेला देशमा भयरहित वातावरण छैन।'
उनले निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको नै भएको बताउँदै भने, 'सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो। यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं।'
यस्तो छ उनको भनाइ
भदौ २३ र २४ गते जेनजीले भ्रष्टाचारको विरोधनमा र सुशासनको पक्षमा तथा सामाजिक संजालमाथिको प्रतिबन्धको विरोध गर्दै गरेको प्रदर्शनमा जीवन गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै सोही प्रर्दशनमा घाइते हुनुभएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उक्त घटनाको निष्पक्ष छानबिन गरेर सम्पुर्ण वास्तविकता सार्वजनिक गरिनुपर्छ।
भदौ २३ र २४ प्रर्दशनपछि आजको मितिसम्म मेरो मनमा निरन्तर केहि प्रश्नहरू उठिरहेका छन्। ०६२÷६३ को जनआन्दोलनमा हामीले भनेका थियौँ– लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन, तर अहिले फेरि रक्तपात र भयावहको अवस्था किन आयो ?
यो परिस्थिति आउनुमा क–कस्को के के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सवोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरक ढंगले बिद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको बिराटनगरस्थित निवास किन ध्वस्त बनाइयो ?
लौहपुरुष गणेशमान सिंहको निवास चाक्सिवारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा मैले बुझेको छु।
मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजि घर आदि जल्नु कुनै कोणबाट पनि सहि थिएन । निजि क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न संभव छैन्।
सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी माथि भएको भौतिक आक्रमण अत्यन्तै निन्दनीय र दुःखद थियो। यो अमानवीय घटनाको म निन्दा गर्दछु।
आजको मितिमा मुख्य विषय फागुन २१ को निर्वाचन हो। सो निर्वाचनमा जान हामीले सबै राजनीति दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनु नेपाली कांग्रेसको दायित्व हो। यतिबेला नेपाली काँग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सहि दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो। त्यही कारण काँग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ। तर निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यतिबेला देशमा भयरहित वातावरण छैन। सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो। यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं।
यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न। तर विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ। पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजेर जानुपर्छ।
जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको छ। तर ०७२ मा बनेको हाम्रो संविधान यथावत छ। निर्वाचन मार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्न सक्छ।
खासगरी काँग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नैपर्छ। मुलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाई कांग्रेसले गर्नुपर्छ।
दुई छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध सुदृढीकरणमा हामीले विषेश ध्यान दिनुपर्छ। नेपालको हितमा उपयोग हुनेगरि मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्छ ।
सामाजिक न्याय र समतामुलुक समाज निमार्णको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पु¥याउन द्वन्द व्यवस्थापनको बिषयलाई केन्द्रमा राख्नुपर्छ भन्नेमा म शुरुदेखी नै प्रष्ट छु।
आज नेपालमा द्वन्द व्यवस्थापन गर्नुपर्ने निम्न क्षेत्र छन् –
पुरानो पुस्ता र आजको पुस्ताबीचको द्धन्द
मधेश र पहाडबीचको द्धन्द
लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनबीचको द्धन्द
राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थितिमा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरित विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्वन्द व्यवस्थापनसंग वीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माण आजको आवश्यकता हो। म सदैब यहि अभियानमा छु।
Shares

प्रतिक्रिया