राजनीति


किम जोङ उनपछि उत्तर कोरियाको शासन महिलाको हातमा जाला?

किम जोङ उनपछि उत्तर कोरियाको शासन महिलाको हातमा जाला?

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १०:२४,

पछिल्ला केही दिनयता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मृत्युको मुखमा पुगेको हल्ला चलिरहेको छ।

सामाजिक सञ्जालमा ह्यासट्याग किम जोङ उन डेड ट्रेन्डिङमा आएको थियो। यद्यपि यो हल्ला निराधार भएको दक्षिण कोरिया, अमेरिकालगायतका मुलुकका गुप्तचर निकायलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मुन चुङ इनले किम सही सलामत रहेको बताएका छन्। सोमबार नै किमले वनसाङ क्षेत्रमा पर्यटकीय केन्द्र निर्माण गरेका कामदारहरुलाई धन्यवाद ज्ञापन गरेको समाचार उत्तर कोरियाली सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

960x0.jpg

तथापि, किम जोङ उनको स्वास्थ्यमा तलमाथि भए उत्तर कोरियाको शासनसत्ता कसले चलाउला भन्ने विषयमा विश्वको ध्यान केन्द्रित भएको छ। यससँगै सबैको नजरमा परेकी छन्, किमकी बहिनी किम यो जोङ।

के उत्तर कोरियाको शासकको पदमा एक महिला आसीन होलिन्? अचानक यो प्रश्नले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाएको छ।

उत्तर कोरियामा शासक फेरिनु अन्य मुलुकमा भएको सत्ता परिवर्तनजस्तो होइन। उत्तर कोरिया र दक्षिण कोरियाबीचको युद्ध औपचारिक रुपमा अझै अन्त्य भएको छैन। त्यसमाथि आणविक हतियार सम्पन्न मुलुकको नेतृत्व कसको हातमा जान्छ भन्ने विषय त्यहाँका नागरिकको भविष्यका लागि मात्र होइन, कोरियाली प्रायःद्वीप र विश्वकै शान्तिका लागि समेत महत्वपूर्ण छ।

Kim Yo Jong11

उत्तर कोरियाको शासनसत्ता किम वंशमा पुस्तान्तरण हुँदै आएको छ। किम इल सुङपछि उनका छोरा किम जोङ इल र त्यसपछि उनका छोरा किम जोङ उन सर्वोच्च पदमा आसीन भए।

तर, किम जोङ उनका छोरा नाबालक नै छन्। त्यसैले किमपछि त्यहाँको सत्ता उनकी बहिनी किम यो जोङको हातमा जानसक्ने अनुमान धेरैले गरेका छन्।

३२ वर्षीया किम यो जोङ उनका पिता किम जोङ इलकी प्रिय थिइन्। किम जोङ इलले उनको बुद्धिमत्ताको प्रशंसा गरेका थिए। किशोरावस्थादेखि नै उनलाई पनि सत्ता सञ्चालन गर्नेगरी तयार पारिएको थियो।

kim-yo-jong89.jpg
किम-मुन शिखर वार्ता

सन् १९८७ मा जन्मेकी किम यो जोङलाई सन् १९९६ मा अध्ययनका लागि स्वीट्जरल्यान्ड पठाइएको थियो। सन् २००७ देखि उनी आफ्ना पिताको सचिवका रुपमा काम गरेकी थिइन्। सन् २०१५ मा चो सङसँग विवाह गरेको समाचार बाहिरिएको थियो। चो पिपुल्स एसेम्ब्लीको स्थायी समितिका अध्यक्ष चो रोङ हेका छोरा हुन्। उनका दुई सन्तान रहेको विश्वास गरिन्छ।

‘किम यो जोङले उत्तर कोरियाली राजनीति राम्ररी बुझेकी छन्,’ उत्तर कोरियाली नेतृत्वसम्बन्धी अमेरिकी विज्ञ माइकल म्याडेन भन्छन्, ‘पछिल्लो समय हरेक महत्वपूर्ण बैठकहरुमा उनी उपस्थित देखिन्छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि उनले प्रभावित तुल्याएकी छन्। त्यसैले किमको उत्तराधिकारी उनीबाहेक अरु कोही हुनै सक्दैन।’

सन् २०१८ पछि किम यो जोङ अन्तर्राष्ट्रिय चर्चामा आएकी हुन्। दक्षिण कोरियामा भएको हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा उनी उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुगेकी थिइन्। कोरिया युद्धपछि दक्षिण कोरियाको भ्रमण गर्ने किम परिवारको पहिलो सदस्य थिइन् उनी।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई उनले आफ्नो दाजु किमको पत्र हस्तान्तरण गरिन्। उनको दक्षिण कोरिया भ्रमणले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा गतिलो स्थान प्राप्त ग¥यो। त्यसको केही समयपछि नै दुई देशका नेताबीच शिखर वार्ता भयो। त्यसयता किम यो जोङको प्रभाव झनै विस्तार भएको देखिन्छ।

Kim Yo Jong14

किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वार्ता गर्दा उनी दाजुको साथमै देखिइन्।

किम परिवारलाई उत्तर कोरियामा निकै ठूलो सम्मान गरिन्छ। त्यसमाथि उत्तर कोरियाको प्रचार संयन्त्रले पनि किम यो जोङलाई वैधानिकता दिन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

गतवर्ष किम जोङ उन पवित्र मानिने पेक्तु पर्वतको भ्रमणमा गएका थिए। टेलिभिजनले देखाइएको दृश्यमा दाजुकै हाराहारीमा उनको घोडा पनि हिँडिरहेको थियो।

kim-trumpdf.jpg
ट्रम्प-किम शिखर वार्ता

‘एक आम उत्तर कोरियालीका लागि उनी विशेष व्यक्ति हुन् भनेर देखाउन यति नै पर्याप्त थियो,’ उत्तर कोरियासम्बन्धी अमेरिकी सरकारका पूर्व विश्लेषक रेचल ली भन्छिन्।

यद्यपि उत्तर कोरियामा विद्यमान पितृसत्ताका कारण दाजुको मृत्यु भएको खण्डमा किमले एक्लै शासन चलाउने भन्दा पनि सत्ता हातमा लिने एउटा समूहको उनी सदस्य बन्ने सम्भावना ज्यादा रहेको केही विश्लेषकको मत छ।

सेनाले शासन सत्ता हातमा लिने सम्भावना रहेको पनि विश्लेषकहरुको भनाइ छ। त्यसमाथि नेतृत्व कसले गर्ने भन्ने विषयमा पार्टी पनि निर्णायक बन्न सक्छ।

उसो त उत्तर कोरियासम्बन्धी धेरैजसो बाहिरी अनुमान गलत साबित हुने गरेका छन्। सन् २०११ मा किमले सत्ता हातमा लिँदा धेरै विश्लेषकले त्यहाँको शासनसत्ता ढल्ने दाबी गरेका थिए। तर, किमले गएको दशकमा शस्त्र भण्डारको विकास त गरे नै अन्तर्राष्ट्रिय कुटनीतिमा पनि उनी सफल देखिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .