राजनीति


नयाँ पार्टीमा ३ पूर्वप्रधानमन्त्री : जुटेर एमालेलाई टक्कर देलान् कि जुधेर तमासा देखाऊलान्?

विश्लेषक भन्छन् : पुस्तान्तरण भए गरी खाला नत्र फेरि फुट्छ
नयाँ पार्टीमा ३ पूर्वप्रधानमन्त्री : जुटेर एमालेलाई टक्कर देलान् कि जुधेर तमासा देखाऊलान्?

सीताराम बराल
कात्तिक १९, २०८२ बुधबार २१:४९, काठमाडौँ

माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरूको असहमतिका बाबजुद नौ पार्टीबीचको एकताबाट बुधबार नयाँ वामपन्थी दलको जन्म भएको छ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)। 

२१ फागुनमा हुने आम निर्वाचनका लागि ‘पाँचकुने तारा’ चिन्ह रोजेको यो नयाँ वामपन्थी दलको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधव नेपाल चयन भएका छन्, जो ‘नेकपा’का पूर्वघटकहरू क्रमशः माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्ष थिए। 

पार्टी नेतृत्वको तेस्रो, चौथो र पाचौँ वरीयतामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता वामदेव गौतम एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राखिएका छन्।  

समकालीन राजनीतिमा सबैभन्दा धेरै (तीनजना) पूर्व प्रधानमन्त्री रहेको दल यही बनेको छ। संयोजक प्रचण्ड, सहसंयोजक नेपाल र तेस्रो वरीयताका खनाल तीनै जना पूर्वप्रधानमन्त्री हुन्। अर्थात्, प्रचण्ड, नेपाल र खनालको उपस्थितिका कारण यो पार्टी समकालीन नेपाली राजनीतिमा सबैभन्दा बढी पूर्वप्रधानमन्त्री भएको दल बन्न पुगेको छ। 

‘जेन–जी’ आन्दोलनको परिणाम 
पार्टी एकता घोषणा सभामा संयोजक प्रचण्डले बताए कि, ‘जेन–जी’ आन्दोलनले दलहरूको कमजोरी उजागर गरिदियो र त्यसैका कारण वामपन्थी दलहरू एकजुट हुने स्थितिमा पुगे। 

‘जेन–जी आन्दोलन नहुँदो हो त हामी एकता हुने स्थितिमा हुन पनि सक्थ्यौँ, नहुन पनि’ घोषणासभामा प्रचण्डको भनाइ थियो, ‘तर, जेन–जी आन्दोलनले यति छिट्टै एकता हुने स्थितिमा हामीलाई पुर्‍याइदियो।’

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका विचारमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादीसहित वामपन्थी दलहरूबीचको यतिछिटो एकता ‘जेन–जी’ आन्दोलनकै परिणाम हो। 

‘जेन–जी आन्दोलनले पुराना पार्टीहरूमाथि चुनौती सिर्जना गरेको छ, कांग्रेस–कम्युनिस्ट लगायतका सबै दलमाथि चुनौती थपिएको छ,’ प्रा पोखरेल भन्छन्, ‘जेन–जी आन्दोलनपछिको राजनीतिक चुनौतीको सामना गर्न उनीहरू एकजुट भएका हुन्।’ 

राजनीतिक विश्लेषक झलक सुवेदी आफ्नो शक्ति र संगठनमा चुनौती सिर्जना हुन थालेको महसुस गरेपछि वामपन्थी दलहरूबीच एकता भएको बताउँछन्।  

‘वामपन्थी पार्टीहरू दलाल पुँजीवादको विरोध गर्छन्, राष्ट्रियता र समाजवादी क्रान्तिको कुरा गर्छन्,’ सुवेदी भन्छन्, ‘तर संगठन नै कमजोर भयो भने उनीहरूका यी विचार पनि कमजोर हुन्छन्। त्यही कारण उनीहरूबीच एकता भएको हो।’ 

सुवेदीका विश्लेषणमा अहिले नै एकता हुनुमा ‘जेन–जी’ आन्दोलनको भूमिका आंशिक छ। यस प्रसङ्गमा उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (महेन्द्र यादव) लगायतका दल ‘समाजवादी मोर्चा’ का घटक रहेको र ‘समाजवादी एकता’ को तयारीमा पहिल्यैदेखि लागेको सम्झन्छन्। 

‘जेन–जी आन्दोलनले सबै राजनीतिक शक्ति र दलहरूमा एक खालको दबाब सिर्जना गर्‍यो, त्यसको भूमिका अहिले एकीकृत भएका घटकहरूमा पनि पर्नै नै भयो,’ सुवेदी भन्छन्, ‘तर, पनि एकता ढिलो–चाँडो हुन्थ्यो नै। जेन–जी आन्दोलनले भने अलिक छिटो एकता गराउन भूमिका खेल्यो।’ 

एमालेलाई सम्भावित टक्कर
आमनिर्वाचन–२०४८ यताका सबैजसो चुनावमा एमाले सबैभन्दा ठूलो कम्युनिस्ट दलको रूपमा स्थापित हुँदै आएको हो। तर, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेको सबैभन्दा ठूलो वामपन्थी दलको ‘ताज’ खोसियो। सशस्त्र संघर्षमार्फत् खुला राजनीतिमा आएको माओवादी सबैभन्दा ठूलो दलको रूपमा त्यो निर्वाचनमा स्थापित भयो। 

पहिलो संविधान सभा निर्वाचनमा माओवादीले प्राप्त गरेको यो विजयले आफू ‘नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हुँ’ भन्ने एमालेको दाबीमाथि प्रश्नचिन्ह खडा गरिदियो।
 
तर, २०७० यताका आमनिर्वाचनयता फेरि एमाले नै सबैभन्दा ठूलो कम्युनिस्ट दलका रूपमा अघि आउन थाल्यो। २०७० यताका निर्वाचनमा गरेका लगातारका प्रदर्शनका कारण ‘नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हामी हौँ’ दाबी गर्न एमाले नेताहरूलाई सहज भएको छ। 

बुधबार निर्माण भएको ‘नेकपा’का एक प्रमुख घटक एकीकृत समाजवादी एमालेबाट नै विभाजित भएर निर्माण भएको दल हो। यसैगरी नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव, नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंह पनि एमाले पृष्ठभूमिकै नेता हुन्। 

बुधबार भएको एकताले एमालेमाथि थोरै चुनौती सिर्जना गरिदिएको छ। त्यहीकारण एमाले अध्यक्ष ओलीले पनि एकीकृत समाजवादीमा गएका नेताहरूका लागि पार्टीको ढोका खोलेको घोषणा गरे। भलै, ढोका ‘व्यक्तिगत तबरमा प्रवेश’ का लागि मात्र रहेको बुझेपछि खनाल यही नयाँ दलमा आबद्ध भए। 

विश्लेषक सुवेदीका भनाइमा, नेपालमा वामपन्थी रुझान राख्ने मतदाताहरूको संख्या ठूलो छ, वामपन्थी पार्टीले जित्नुपर्छ भन्ने चाहनाका साथ उनीहरूले अलिक ठूलो र अपेक्षाकृत वामपन्थीजस्तो देखिने पार्टीको पक्षमा मतदान गर्दै आएका छन्।  

‘केपी शर्मा ओलीको नेतृत्वमा एमाले मध्य–दक्षिणपन्थी रुझानको ‘वामपन्थी’ पार्टी बनेको छ, प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको यो पार्टी चाहिँ मध्य–वामपन्थी पार्टी हुने देखिन्छ,’ सुवेदी भन्छन्, ‘एमाले मध्य–दक्षिणपन्थी दलमा विकास भएकाले एमालेको तुलनामा वामपन्थी मतदाताहरूलाई प्रचण्ड–माधव नेपाल नेतृत्वको यो दलले बढी आकर्षित गर्न सक्छ।’

जहाँसम्म एमाले र नेपाली कम्युनिस्ट पार्टीमध्ये कुन ठूलो दल बन्ला भन्ने सवाल हो, यसका लागि भने निर्वाचन परिणाम नै कुर्नुपर्ने सुवेदी बताउँछन्।

नेपालमा कम्युनिस्टहरू धेरै टुक्रामा विभाजित भएका र जनताले कम्युनिस्ट पार्टीहरूबीच एकता चाहेकाले यो नयाँ दलले कम्युनिस्ट मतदाताहरूलाई सबल विकल्प दिन र आकर्षित गर्नसक्छ भन्ने प्रा पोखरेललाई पनि लाग्छ। 

‘नेपालमा वामपन्थी मतदाता धेरै छन्, उनीहरू वामपन्थी एजेन्डा मन पराउँछन्,’ प्रा पोखरेल भन्छन्, ‘उनीहरूको गुनासो कम्युनिस्टहरू एक भएनन् भन्ने छ। अहिले माओवादी र एकीकृत समाजवादीजस्ता वामपन्थी दलहरू एकजुट भएर आएका छन्, यसले वामपन्थी मतदाताहरूलाई फैसला गर्न पनि सजिलो होला।’ 

उनी थप्छन्, ‘किनकि, ओली वामपन्थी एकताको विरुद्धमा देखिएका छन्। उनले गर्दै आएको वामपन्थी एकताको विरोध वामपन्थी रुझानका मतदाताहरूले मन नपराउन सक्छन्।’

त्यसोभए आगामी निर्वाचनमा प्रचण्ड–माधव नेतृत्वको यो दलले एमालेलाई टक्कर दिएर सबैभन्दा ठूलो वामपन्थी दल बन्न सक्ला त!  

विश्लेषक सुवेदीजस्तै, प्रा. पोखरेल पनि यस विषयमा आफ्नो निष्कर्ष सुनाइहाल्ने स्थितिमा छैनन्। 

‘हिजो नेकपा विभाजनका बेला नै प्रचण्डजी, माधव–झलनाथ–वामदेवजीहरू एक भएर गइदिएको भए उहाँहरूकै दल ठूलो बन्नसक्ने सम्भावना थियो,’ प्रा पोखरेल भन्छन्, ‘माधवजीहरूले माओवादीभन्दा अलग देखाउन खोज्दा त्यो अवसर गुमाउनु भयो। अब टक्कर दिन सक्ने–नसक्ने हेर्नका लागि चाहिँ निर्वाचन नै कुर्नुपर्ला।’  

प्रा पोखरेल थप्छन्, ‘तर महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र मनमुटाव बढ्दो छ। अध्यक्ष केपी शर्मा ओली वामपन्थी एकताको बाधकका रूपमा देखिएका छन्। यो स्थितिमा यदि प्रचण्ड–माधव नेपालले आफ्नै पार्टीपंक्तिलाई एकजुट राख्न सके र एमालेका असन्तुष्टहरूलाई पनि विश्वासमा लिन सके भने चाहिँ यो नयाँ दलले एमालेलाई चुनौती दिनेछ।’

चुनौती : नेतृत्व व्यवस्थापन 
वाम गठबन्धन निर्माण गरेर २०७४ को निर्वाचनमा प्रतिस्पर्धा गरेका एमाले र माओवादी केन्द्रबीच निर्वाचनलगत्तै एकता भएको थियो। र, बनेको थियो, इतिहासकै सबैभन्दा ठूलो वामपन्थी दल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)।  

तर, शीर्ष नेताहरूबीच व्यक्तित्वको टकराव, सत्ता–संघर्ष आदिका कारण त्यो एकता तीन वर्ष पनि टिकेन। यो पृष्ठभूमिमा सर्वाेच्च अदालतको एउटा प्राविधिक फैसलाका आधारमा ‘नेकपा’ एकता काँचजसरी झर्याम्झुरुम टुट्न पुग्यो। 

त्यसपछि ‘नेकपा’का दुई घटक पूर्ववत् एमाले र माओवादी केन्द्रका रूपमा अलग्गिए। एमाले पनि सग्लो रहन सकेन, माधव नेपाल–झलनाथ खनालको नेतृत्वमा पार्टी विभाजित भई एकीकृत समाजवादी बन्यो। 

वामदेव गौतमले ‘नेकपा एकता अभियान’ नामको छुट्टै समूह निर्माण गरे। 

अहिले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम फेरि एकै ठाउँमा आइपुगेका छन्।  

यो एकता हिजोजस्तै टुट्दैन भनेर ग्यारेन्टी गर्न सक्ने स्थितिमा कोही पनि छैनन्। 

प्रा पोखरेल हिजोजस्तो नेतृत्वको ‘टकराव’ र ‘इगो’ का कारण पार्टी विभाजन हुने सम्भावना कम रहेको बताउँछन्। पोखरेलका भनाइमा, उनीहरू ‘इगो’ राख्ने स्थितिमै छैनन्। 
 
‘नेताहरूबीच ‘इगो’ नहुने भन्ने होइन। त्यसकै कारण हिजो नेकपा एकता टुटेको हो,’ उनी भन्छन्, ‘तर, ‘इगो’ को पनि आयु हुन्छ। अनावश्यक ‘इगो’ कै कारण ठक्कर खाँदै–खाँदै यहाँसम्म आइपुगेका छन्। त्यसैले अब ‘इगो’ सिर्जित समस्या नहोला।’

नेतृत्वको महत्वाकांक्षा राखेका माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो पुस्ताका केही नेता (माओवादी केन्द्रका जनार्दन शर्मा र एकीकृत समाजवादीका घनश्याम भूसाल) हरू एकता प्रक्रियामा सहभागी नभएकाले पनि व्यक्तित्वको टकरावको समस्या नयाँ पार्टीमा कमै हुने प्रा पोखरेललाई लाग्छ।   

‘प्रचण्ड संयोजक बनेका छन्, माधव नेपाल सहसंयोजक। झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि पार्टी नेतृत्वमा यथोचित मर्यादाक्रम पाएका छन्,’ प्रा पोखरेल थप्छन्, ‘अन्य नेताको व्यवस्थापनका लागि कमिटीको आकार जत्रो बनाए पनि भइहाल्यो। यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेकै छन्।’ 

सुवेदी पनि नेतृत्वमा ‘इगो’ को समस्या खासै देख्दैनन्। उनले देखेको चुनौती भनेको नेताहरूको अनुहार, उमेर, कार्यशैली र प्रवृत्ति हो। 

‘४०–५० वर्षदेखि नेतृत्वमा बसेका नेताहरू फेरि पनि पार्टीको अग्रस्थानमा छन्, यस्ता नेताहरूले नेतृत्व गरेका दलहरू मिल्दा पार्टी काम त्यति चुस्त–दुरुस्त हुँदैन,’ सुवेदीलाई लाग्छ, ‘यिनीहरूबीच कामको व्यवस्थापन गर्दैमा अधिकांश समय व्यतीत हुन्छ।’ 

नेतृत्वको पुस्तान्तरण : बन्देज कि खुला?
लामो समयदेखि प्रचण्डले माओवादीको र एमालेकालदेखि एकीकृत समाजवादीसम्म माधव नेपाल–झलनाथ खनालले पार्टी नेतृत्व गर्दै आए। एकै नेताको लामो नेतृत्वका कारण दुवै पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग प्रबल थियो। 

माओवादी केन्द्रमा जनार्दन शर्मा र एकीकृत समाजवादीमा घनश्याम भूसालले नेतृत्व हस्तान्तरण सम्बन्धी मागको अगुवाइ गरेका थिए। एकतापछिको पार्टीको नेतृत्व पनि प्रचण्ड र माधव नेपालले गर्ने भएपछि शर्मा र भूसाल एकता प्रक्रियामा सहभागी नै भएनन्। 

पार्टी ‘नयाँ’ भए पनि नेतृत्वमा पुरानै अनुहार दोहोरिँदा पार्टी नयाँ पुस्तालाई आकर्षित गर्न कठिन हुने र त्यसले विभाजनको खतरा निम्त्याउन सक्ने सुवेदी बताउँछन्। 

‘आफू ‘ब्याकअप’मा मात्र बसेर विस्तारै अर्काे पुस्तालाई नेतृत्व हस्तान्तरणमा गए भने यो पार्टी जोगिएला, राम्रो पनि गर्दै जाला,’ सुवेदी भन्छन्, ‘तर, नेताहरू फेरि पनि शक्ति नियन्त्रण गर्ने अभ्यासमै लागिरहे भने चाहिँ थप शक्ति हासिल गर्न त सक्दैन नै, फेरि विभाजनतिर जान्छ।’ 

बुधबार आयोजित घोषणासभामा सार्वजनिक गरिएको घोषणापत्रमा भने ‘नेतृत्व विकास र हस्तान्तरण’ गरिने उल्लेख छ। त्यसमा ‘नेतृत्व विकास तथा हस्तान्तरणका वैज्ञानिक विधि स्थापित गरिने’ र ‘पार्टी पदाधिकारीको उमेर र कार्यकाल तोकिने’ उल्लेख छ। 

प्रा पोखरेल नेपाली राजनीतिमा नेताहरूको ‘राजनीति प्रवेश’ को ठाउँ फराकिलो भए पनि नेतृत्वबाट निकासको ठाउँ चाहिँ साँघुरो भएकाले समस्या सिर्जना भएको औँल्याउँछन्। 
   
‘संसदीय राजनीतिमा कुनै नेतालाई प्रधानमन्त्रीको रूपमा अघि सारेर पार्टी चुनाव लड्छ, चुनावमा सफलता मिल्यो भने त्यो नेता प्रधानमन्त्री हुन्छ, सफल भएन भने नेतृत्वबाट हट्छ,’ पोखरेल भन्छन्, ‘तर, संसदीय राजनीतिको यो मान्यता हामीकहाँ अंगीकार नगरिँदा नेताका लागि निकासको ढोका साँघुरो बनेको छ।’ 

यद्यपि, पार्टी नेतृत्वबाट प्रचण्ड र माधव नेपाल लगायत पुराना पुस्ताका नेताहरू ‘नेतृत्व हस्तान्तरण’को प्रक्रियामा जानेमा प्रा पोखरेल आशावादी छन्। 

‘दुवै नेताले हाम्रो चाहना पार्टी एकीकरण हो र एउटा अवस्था आएपछि नेतृत्व छाड्छौँ भनेका छन्,’ प्रा पोखरेल भन्छन्, ‘नेतृत्वमा पुस्तान्तरणको दबाब सर्वत्र छ, आफ्नै पार्टीभित्र झन् बढी दबाब छ। अब त्यसको विधि बनाऊलान्।’  

नौ वटा दलहरूबीच एकता भएपछि, निश्चय नै ‘केही समयका लागि’ नेपालमा वामपन्थी दलहरूको संख्या घटेको छ। प्रा पोखरेल र विश्लेषक सुवेदीले भनेजस्तै एकतालाई सफल र स्थायी बनाउने विषय चाहिँ पार्टीका मुख्य नेताहरूका व्यवहार र गरेका प्रतिबद्धता कार्यान्वयनमा निर्भर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad