राजनीति


मन्त्री घिसिङलाई प्रधानमन्त्री कार्कीको प्रश्न : पार्टी बनाएर चुनाव लड्न लाग्नुभएको हो?

मन्त्री घिसिङलाई प्रधानमन्त्री कार्कीको प्रश्न : पार्टी बनाएर चुनाव लड्न लाग्नुभएको हो?

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार २१:१०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा दल खोलेर राजनीतिमा आउने सम्भावना रहेको संकेत गरेकी छन्। 

प्रधानमन्त्री कार्कीले शुक्रबार अपरान्ह सरकारी निवास बालुवाटारमा झण्डै २ दर्जन सम्पादकहरुसँग निर्वाचन, शान्ति सुरक्षा, परराष्ट्र मामिला, राजनीतिक परिस्थिति लगायतका विषयमा अन्तर्क्रिया गरेकी थिइन्, निर्वाचन सफल पार्ने विषयमा सम्पादकहरुको सुझाव पनि मागेकी थिइन्।

त्यसक्रममा सम्पादकहरुलाई विविध विषयमा प्रश्न राख्ने अवसर उपलब्ध गराइएको थियो। त्यसक्रममा उठेको एउटा जिज्ञाशा थियो, ‘सरकारको जिम्मेवारी निर्वाचन गराउने हो, तर सरकारका कुनै मन्त्रीले दल स्थापना गर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी पनि छ कि!’ 

खासगरी उर्जामन्त्री घिसिङ हाल अस्तित्वमा रहेका कुनै राजनीतिक दलमा आबद्ध हुने वा आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा रहेको चर्चा छ। तिनै चर्चाका आधारमा प्रधानमन्त्री कार्कीसँग आगामी निर्वाचनमा कार्की नेतृत्वको मन्त्रिमण्डलका कुनै सदस्यले प्रतिस्पर्धा गर्लान् कि नगर्लान् भन्ने जिज्ञासा राखिएको थियो। 

प्रधानमन्त्री–सम्पादकहरुबीचको अन्तर्क्रियामा मन्त्री घिसिङ पनि सहभागी थिए। यस विषयमा आफूले पनि मन्त्री घिसिङसँग जिज्ञासा राखेको जानकारी प्रधानमन्त्री कार्कीले सम्पादकहरुलाई दिइन्। 

‘मैले पनि उहाँले राजनीतिक पार्टी खोल्ने र चुनाव लड्ने भन्ने कुरा (समाचारमा) पढेर थाहा पाएकी हुँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंले पार्टी खोलेर चुनाव लड्न लाग्नुभएको हो भन्दा उहाँ होइन भन्नु हुन्छ। तर, कोही–कोहीले चाहिँ उहाँ पार्टी गठन गरेर चुनाव लड्नुहुन्छ भनेका छन्।’

आफूबारे प्रधानमन्त्री कार्कीले यस्तो जवाफ दिँदा मन्त्री घिसिङ मुस्कुराए मात्र, कुनै जवाफ दिएनन्। 

त्यसो त, गृहमन्त्री ओमप्रकाश अर्याल पनि २३ भदौको ‘जेन–जी’ आन्दोलनअघि निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको चर्चा थियो। 

राप्रपा नेता दीपक बोहोराको निधनपछि खाली रहेको रुपन्देही–३ को उपनिर्वाचनमा अर्यालले प्रतिस्पर्धाको तयारी गरेका थिए। प्रतिनिधिसभा विघटन नभएको भए १७ कार्तिकका लागि त्यहाँ उपनिर्वाचनको घोषणा गरिएको थियो। 

यसरी उपनिर्वाचन लड्ने तयारीमा रहेका अर्यालले भने गृहमन्त्री बनेपछि चुनाव र राजनीति दुवैबाट मन मारिसकेको दाबी उनले गरिन्। 

‘ओमजी (गृहमन्त्री अर्याल) त वाक्क भइसक्नुभएको छ,’ उनले थपिन्, ‘गृहमन्त्रीको कार्यकाल सकिएको भोलिपल्टैदेखि वकालतमै जान्छु भन्नुभएको छ।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad