राजनीति


प्रचण्डको सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

प्रचण्डको सचिवालयबाट राजीनामा दिएको गंगा दाहालको घोषणा

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १४:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'की सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्। 

उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्। 

'निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,' सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छन्, 'पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।'

उनले ०७४ मंसिरदेखि प्रचण्डको सचिवालय हेर्न थालेकी थिइन्। 

उनले आफूले बोक्के झोलालाई पनि निशाना बनाएको विषयमा आपत्ति जनाएकी छन्। 'म, मेरा दिदीहरू र भाइलाई जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट बञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो,' उनले थप भनेकी छन्, 'कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी। एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन। साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो। अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad