राजनीति


अध्यादेश लोकतान्त्रिक संविधानका लागि अशुभ संकेत: कांग्रेस

अध्यादेश लोकतान्त्रिक संविधानका लागि अशुभ संकेत: कांग्रेस

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ८:५१,

नेपाली कांग्रेसले सरकारले ल्याएका दुई अध्यादेश लोकतान्त्रिक संविधानलाई असफल बनाउन षडयन्त्र भएको ठहर गरेको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानको भावना विपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको जनाएको छ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको अध्यादेशलाई बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिँदै भत्सर्ना र खेद व्यक्त गरेको छ।

‘कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको थियो’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको त्यो मर्म र भावना एवं परिषदको गरिमामय भूमिकालाई समाप्त गरेको छ। बैठकले यो अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गर्ने निर्णय गरेको छ।’

कांग्रेसले संविधान निर्माण गरिँदा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएको स्मरण गर्दै राजनैतिक दल सम्बन्धी ब्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको ठहर पनि गरेको छ।

‘कोरोनासँग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनैपनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण एवं षड्यन्त्रपूर्ण छ। पदाधिकारी बैठकले यस्तो प्रवृत्तिको भत्सर्ना गर्दै अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गरेको छ’ कांग्रेसले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .