राजनीति


जेन जीको प्रदर्शनमा राज्यको निर्मम दमन, २० जनाको गयो ज्यान

जेन जीको प्रदर्शनमा राज्यको निर्मम दमन, २० जनाको गयो ज्यान

नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:३, काठमाडौँ

जेनजीले देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारले निर्मम दमन गरेको छ।

देशमा व्याप्त भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै जेनजीले सोमबार बिहान ९ बजेदेखि काठमाडौँ, झापा, सुनसरी, कास्की, काभ्रे, रूपन्देही, चितवन र दाङका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए।

तर, काठमाडौँको माइतीघर हुँदै नयाँ बानेश्वर पुगेको प्रर्दशन आक्रामक बन्दै प्रहरी घेरा तोड्न पुग्यो। यति मात्र होइन, संसद् भवनभित्र बस्यो, गेट फोर्ने, पर्खाल भत्काउने र आगोसमेत लगाउन खोजेका दृश्यहरू देखिए। 

त्यसपछि प्रहरीले दुईपटक अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर प्रदर्शनकारी तितरवितर भए पनि फेरि संगठित भएर अघि बढे।

प्रदर्शन नसम्हालिएपछि प्रहरीले गोली चलाउन थाल्यो।

प्रहरीले आफूमाथि ढुंगामुढा भएपछि प्रतिरक्षाका लागि गोली चलाएको बताएको छ। तर, प्रहरीतर्फ केकस्तो क्षति भयो भनेर सरकारले बताएको छैन। प्रदर्शनकारीतर्फ हेर्दा प्रहरीको गोली लागेर घाइते भएकामध्ये यो खबर तयार पार्दासम्म काठमाडौँ र इटहरी गरेर २० जनाको मृत्यु भइसकेको छ।

यस्तै, निजामती कर्मचारी, एभरेस्ट, केएमसी, वीर, ट्रमा, टिचिङ र ललितपुरको पाटन अस्पतालमा घाइतेको उपचार जारी छ। अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

यस्तै, काठमाडौँमा ठूलो मानवीय क्षति भएपछि देशका अन्य क्षेत्रमा पनि प्रदर्शन थप भड्किन पुगेको छ। सुनसरीको इटहरीमा प्रदर्शनकारी उग्र बनेर आगजनीमै उत्रिए। उनीहरूले इटहरी उपमहानगरपालिकाको एउटा भवन जलाइदिएका छन्।

इटहरीमा प्रहरीले गोली चलाउँदा २ जना प्रदर्शनकारीको ज्यान गएको छ। अहिले त्यहाँ प्रशासनले कर्फ्यु लगाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले अत्यधिक बल प्रयोग भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

‘यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad