उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति कर्मचारीहरु सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिवद्ध हुनुपर्ने बताएका छन्।
निजामती सेवा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले समृद्ध नेपाल: सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए।
नागरिकले विकास र सुशासनको अपेक्षा गरिररहेका सन्दर्भमा निजामती सेवाले सोहीअनुरुप आफुलाई समायोजन, अनुकूलन र परिस्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ।
‘मुलुकले लिएको दीर्घकालिन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसमपादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी हो,’ उपप्रधानमन्त्री सिंहले भने,‘आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामती कर्मचारीहरुको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास लिएको छु।’
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संघीयताको प्रभावकारी कार्यान्वयन,सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताए।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुंगाको रुपमा अपेक्षा गरिएको निजामती सेवासम्बन्धि विधेयक कर्मचारीहरुको माग र भावना समेट्दै्र राजनीतिक दलहरुको सहमतिमा संसद्बाट छिटै पारित हुने विश्वास पनि व्यक्त गरे।
Shares

प्रतिक्रिया