कांग्रेस महामन्त्री गगन थापाले आजको नेपाली कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालबाट धेरै युवा रोजगारीको लागि विदेश जाने गरेकाले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन्।
हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख बचत गर्ने भन्दै उनले नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने धारणा पनि राखे।
‘देशभरि पूर्वाधार बनेको छ। विकास भएको छ। थुप्रै कुराहरू बदलिएको छ। तर मान्छेहरूमा आकंक्षा पनि बढेको छ। जुन स्वाभाविक हो। हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन्। म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटाको महिनाको बचत दुई लाख छ, कमाइ अढाइ लाख छ,' उनले भने, 'मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जनाका लागि रोजगारी सिर्जना हुन्छ, देशमा अहिले। ४०-५० हजार मान्छेभन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन। लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ। त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन। राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ।'
देशमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको उनको भनाइ छ। बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरू पनि बढेको उल्लेख गर्दै उनले जुन स्वाभाविक भएको टिप्पणी गरे। धेरै युवा रोजगारीको लागि विदेश जाने गरेकाले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। हाल ५० हजारभन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उनको भनाइ छ।
'आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले। मेरो लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन्,' उनले थपे, 'म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्यो प्रति एउटा विश्वास राख्छु। र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु। र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु।’
बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै उनले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए।
थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताए। त्यस्तै थापाले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए।
'कांग्रेस स्थापनाकाल देखिकै राष्ट्रिय पार्टी हो। व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ,' उनले भने, 'कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन। हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ।'
Shares

प्रतिक्रिया