राजनीति


हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तीमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तीमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १३:१४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिसन ०८४ मा रहेको बताएका छन्। उनले अबको निर्वाचनमा कम्तीमा एमालेले बहुमत ल्याउनुपर्ने पनि बताए। 

पार्टीको विधान महाधिवेशनलाई सम्बोधन पार्टीका सारा कमिटी परिचालन गरेर बहुमत ल्याउनुपर्ने बताएका हुन्। 

'हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीले एकल बहुमत ल्याउनुपर्दछ कम्तीमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता  परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन,' ओलीले भने, 'यहाँहरूलाई थाहा छ- हामी सरकारमा छौँ। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा छौँ धाँधली रोक्नेछौँ। निष्पक्ष स्वतन्त्र निर्वाचन हुनेछ। यसर्थ सबैलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधि अघि बढाउन जरुरी छ।'  

उनले एमालेको विषयमा हल्ला फिँजाएपछि मध्यपहाडी लोकमार्ग यात्रा गरेर तथ्य जाँच गरेको पनि बताए। 

'एउटा अभियान चाल्यौ। विरोधीहरूले हल्ला फिँजाएजस्तै हाम्रो अवस्था त्यस्तै भएको हो कि भनेर हामीले जाँच्न खोजेका थियौँ,' उनले भने, 'हामी जनताका बीचमा आशाका केन्द्र राष्ट्रियताका लागि, सुशासन र विकासका लागि हरेक पक्षमा हामी जनताको आशाका केन्द्र हौँ। समानता र न्यायका लागि हामी अग्रगामी हौँ।' 

उनले देशको अर्थतन्त्र समाजवाद उन्मुख भए पनि विकासशील भइनसकेको सुनाए। 'हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ। समाजवदामा पुग्या छैन, हामी विकासशील भएका छैनौँ,' उनले भने, '०८३ मंसिरमा हामी बल्ल विकासशीलमा पुग्छौँ।' 

उनले ०८४ सालको निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउने पनि बताए।  'मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने छौँ। हाम्रा नीति नै राष्ट्रिय नीति हो' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad