राजनीति


नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : गगन थापा

नेतृत्व किसानको हितमा केन्द्रिकृत हुनुपर्छ : गगन थापा

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १९:४५, पाटन (ललितपुर)

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासंघको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासंघको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासंघ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राखे।

‘नेपाल किसान महासंघले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, ४ अर्ब रुपैयाँभन्दा बढीको आयात गरेर  खान्छौँ, हाम्रो उत्पादकत्व बढाउन किसान महासंघले पहल गरोस्’, उनले भने।

उनले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासंघले गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका प्रवक्ता एवं डा प्रकाशशरण महतले दुई तिहाइ किसान कृषि पेसामा आबद्ध हुँदा पनि देशको आम्दानीमा एक चौथाइ मात्रै उपलब्धि हासिल भएको बताए। उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरणका माध्यमबाट कम जनशक्तिको उपयोगबाट उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले किसानको जीवनमा आउने आर्थिक परिवर्तनले देशको आर्थिक समृद्धि हासिल हुने धारणा राखे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामार्फत किसानको हकहितलाई बलियो बनाउन योग्य नेतृत्व चयन गर्न शुभकामना दिए।

नेपाल किसान महासंघका महाधिवेशन निर्देशक समितिका संयोजक रमेश रिजालले सकारात्मक सन्देश दिनेगरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad